Kathmandu Press

चार महिनामै बन्यो बेलिब्रिज

जलजला गाउँपालिका–२ र ३ मा पर्ने बगरफाँटलाई बेनीबजारसँग जोड्न उक्त पुल निर्माण गरिएको हो। कालीगण्डकी नदीले सडक कटान गरेपछि बगरफाँट बस्ती विगत दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित हुँदै आएको थियो।
चार महिनामै बन्यो बेलिब्रिज

पर्वत, जेठ ८ : पर्वतको जलजला गाउँपालिकालाई छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारसँग जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गरिएको बेलिब्रिज चार महिनामै सम्पन्न भएको छ। 

जलजला गाउँपालिका–२ र ३ मा पर्ने बगरफाँटलाई बेनीबजारसँग जोड्न उक्त पुल निर्माण गरिएको हो। कालीगण्डकी नदीले सडक कटान गरेपछि बगरफाँट बस्ती विगत दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित हुँदै आएको थियो।

गत फागुन अन्तिम सातादेखि निर्माण सुरु भएकामा कालीगण्डकीमाथि ५४ मिटर लामो हुने बेलिब्रिजको जडान वैशाख ५ गतेदेखि सुरु गरिएको थियो। 

Hardik ivf

दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित भएका बगरफाँटरवासी आइतबार पुल जडान कार्य सम्पन्न भएसँगै उत्साहित भएका छन्। बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स कम्पनी बेनीसँग पाँच महिनाभित्र योजना सम्पन्न गर्ने गरी रू एक करोड ६० लाखमा ठेक्का सम्झौता गरेको थियो।

निर्धारित समयभन्दा एक महिना अगावै पुल निर्माण सम्पन्न भएको निर्माण कम्पनीका सब ओभरसियर सनम शाहीले जानकारी दिए। 

सडक सञ्जालबाट विच्छेद हुँदा बगरफाँटका करिब तीन सय घरधुरीले दैनिक उपभोग्य वस्तु भरियालाई रकम तिरर झोलुङ्गे पुलबाट ल्याउँनु पर्दा सामानको मूल्य महँगो पर्ने गरेको स्थानीयको भनाइ थियो। बेलिबिज्र निर्माण सम्पन्न भएसँगै सिधा सडक सञ्जालको पहुँच पुगेको बगरफाँटका विज्ञान शर्माले बताए। 

'बगरफाँटबाट म्याग्दी आवतजावत गर्ने कालीपुल जोड्ने झोलुङ्गे पुलको लठ्ठा खिया लागेर छिन्ने अवस्थामा पुगेको थियो', उनले भन्नुभयो। बेलिब्रिज बनेपछि विद्यार्थी, शिक्षक, कर्मचारीलगायत सर्वसाधारण म्याग्दी बेनी आवतजावत गर्नसहज भएको उनले बताए। 

पुल निर्माणको माग गर्दै विभिन्न समयमा बगरफाँटवासीले आन्दोलन गर्दै आएका थिए। कालीगण्डकी नदीमा पुल निर्माणमा पहल गर्ने प्रतिबद्धता नगरेसम्म निर्वाचनमा कुनै पनि दलका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेपछि म्याग्दी र पर्वतका उम्मेदवारले बगरफाँट पुगेर पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता गरेका थिए। पूर्वमन्त्री पदम गिरीको पहलमा सडक विभागसँगको समन्वयमा तत्कालका लागि बेलिब्रिज निर्माण गर्ने र सोही स्थानमा पक्की मोटरेवल पुल निर्माणका लागि सम्भाव्यता अध्ययन भएको थियो। 

बेलिब्रिज निर्माणपछि बगरफाँट हुँदै जलजलाको वडा नं. १ बाँसखर्क, वडा नं ५ लेखफाँट, वडा नं ६ शालिजा र वडा नं २ को माँझफाँटमा सिधा यातायात सेवा सञ्चालन हुने भएको छ।

प्रकाशित मिति: १६:०७ बजे, सोमबार, जेठ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्