Kathmandu Press

नीति तथा कार्यक्रमप्रति मिश्रित प्रतिक्रिया

नीति तथा कार्यक्रमप्रति मिश्रित प्रतिक्रिया

काठमाडाैं, जेठ ८ : सरकारले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि सांसदहरुले मिश्रित प्रतिक्रिया दिएका छन्।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा आज सत्तापक्षका सांसदहरुले नीति तथा कार्यक्रम राम्रो रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए। प्रतिपक्षी दलका सांसदहरुले भने नीति तथा कार्यक्रमले मुलुकको अहिलेको समस्या समाधान गर्ने गरी कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरे। 

बैठकमा जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नीति तथा कार्यक्रममा धेरै विषयबारे द्विविधा भएको उल्लेख गर्दै गफ दिएर नयाँ नेपाल निर्माण नहुने बताए। उनले आफ्नै स्रोतले मात्र अपेक्षा गरेअनुसारको विकास गर्न नसकिने जिकिर गर्दै वर्तमान परिवेशमा अन्तर्राष्ट्रिय निकायसँग समन्वय गर्नुपर्ने आवश्यकता औंल्याए।

आस्वासनले मात्र अब जनता चुप नलाग्ने उल्लेख गर्दै सांसद यादवले परिणाममुखी काम गर्न नसके अब नयाँ दल र पुराना दलको भाष्य स्थापित हुन लागेको बताए। मुलुक बनाउन नीति तथा कार्यक्रममा सपना देखाउने कार्यक्रम हुनुपर्नेमा जोड दिँदै उहाँले युवालाई स्वदेशमै बस्न उत्प्रेरणा र कार्यक्रम ल्याउनुपर्ने बताए। 

जनमत पार्टीकी सांसद अनिता देवीले जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याउन सरकारलाई अनुरोध गर्दै स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न उद्योगधन्दा सञ्चालन गर्न माग गरिन्। सामुदायिक स्वास्थ्य सेवालाई अझ प्रभावकारी ढङ्गले अघि बढाउनुपर्नेमा उनको जोड थियो।  

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लाले नेपालको अर्थतन्त्र सुधार गर्नका लागि निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्ने र सरकारले लगानी सुरक्षित गर्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए। नेपालको कृषि क्षेत्रले कूल गार्हस्थ उत्पादनमा ३० प्रतिशत योगदान गरेको उल्लेख गर्दै उनले समयमै कृषकलाई मल, बीउ र सिँचाइको सुविधा उपलब्ध गराउने सरकारको नीति हुनुपर्ने सुझाव दिए। 

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लालवीर चौधरीले जनकपुर चुरोट कारखाना र वीरगञ्ज चिनी कारखाना, भृकुटी कागज कारखाना र बाँसबारी छाला जुत्ता कारखाना सञ्चालनका लागि नीति तथा कार्यक्रममा योजना राख्न सुझाव दिए। स्वतन्त्र सांसद प्रभु साहले लोकतन्त्रको अभ्यास गर्दा जनताले विश्वास गर्ने गरी छलफल गर्नुपर्ने तथा देशको विकास र समृद्धिका लागि काम गर्नुपर्ने सुझाव दिए। उनले व्यवस्थासँगै अवस्था बदलिएको जनताले हेर्न चाहेको र त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए।  

अर्का स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले नीति तथा कार्यक्रम जनताको जीविका र समृद्धिसँग मेल खाने खालको नभएको टिप्पणी गरे। यस्तै स्वतन्त्र सांसद योगेन्द्र मण्डलले नीति तथा कार्यक्रममा लोखिएका कुरा अक्षरशः कार्यान्वयन गरेमा राम्रो हुने तर प्रभावकारी कार्यान्वयनमा भने विश्वस्त हुन नसक्ने अवस्था रहेको बताए।

प्रकाशित मिति: १५:१४ बजे, सोमबार, जेठ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्