सुर्खेतमा मिटरब्याजका ४२ मुद्दा दर्ता, ठगी हुनेमा अधिकांश महिला
सुर्खेतमा वैशाख १७ देखि ३१ गतेसम्म पीडितहरूको निवेदन संकलन गर्न सूचना निकालेको थियो। त्यसपश्चात् सात दिनको सूचना थप गरिएको हो। अब आगामी आइतबारसम्म पीडितको निवेदन संकलन गरिने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
सुर्खेत, जेठ ७ : सुर्खेतमा मिटरब्याज ठगी सम्बन्धीका ४२ मुद्दा दर्ता भएका छन् । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याजका पीडितहरूलाई प्रशासन कार्यालयमार्फत निवेदन दिन आह्वान गरेको थियो।
आयोगले अहिले देशैभरबाट मिटरब्याज लेनदेनका पीडितहरूलाई निवेदन दिन आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि निवेदन संकलनका लागि सूचना निकालेको थियो।
सुर्खेतमा वैशाख १७ देखि ३१ गतेसम्म पीडितहरूको निवेदन संकलन गर्न सूचना निकालेको थियो। त्यसपश्चात् सात दिनको सूचना थप गरिएको हो। अब आगामी आइतबारसम्म पीडितको निवेदन संकलन गरिने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
मिटरब्याजसम्बन्धी ठगीमा पर्ने अधिकांश महिला रहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका मिटरब्याज सहायताकक्षमा कार्यरत गोमा सुवेदीले बताए। ‘अहिलेसम्म अधिकांश महिलाहरू नै ठगिएको देखिएको छ’, सुवेदीले भने, ‘पुरुषहरू फाटफुटमात्र निवेदन ल्याएर आएका छन्।’
यसरी ठगिनेहरू धेरैजसो ऋण लिने र जग्गा पास गर्दा ठगीमा परेको पीडितहरूले उल्लेख गरेको उनले बताए। उनले भने, ‘निवेदन दर्ता गराउन आउनुभएका धेरैजसो जग्गा दृष्टिबन्धक राखेको र ठगीमा परेको उल्लेख गरेकाछन्। कतिपय भने पाँच लाख रकम ऋण लिएर १५ लाखसम्म बुझाउनु परेको अवस्था रहेको समस्या राखेका छन्।’
कार्यालयले मिटरब्याज पीडितहरूलाई सहायताका लागि छुट्टै सहायताकक्षको समेत व्यवस्था गरेको प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले बताए।
‘सहजीकरणका लागि हामीले कक्ष नै व्यवस्था गरेका छौं, त्यहाँ पीडितहरूलाई फाराम भर्नेलगायतका काममा सहयोगसमेत गरिन्छ’, प्रशासकीय अधिकृत न्यौपानले भने, ‘सहायताकक्षमा छुट्टै कर्मचारी राखेर पीडितका निवेदन लिने काम गरेका छौं।’
कार्यालयमा भौतिकरूपमा उपस्थित भएर निवेदन दिन नभ्याउनेहरूका लागि अनलाइनमार्फत पनि निवेदन दिन सकिने व्यवस्थासमेत छ।
आयोगले मिटरब्याज भन्नाले ब्याजलाई साँवामा गाभेर पुनः साँवा भएका लेनदेनका साथै कानून विपरीत चर्को ब्याजमा भएका कारोबारलाई समेत अनुचित लेनदेन भनेको छ।
ऋणीले धरौटीमा रकम नलेखेर दिएको बैंकको खाली चेक, बढी रकम उल्लेख गरेको वा परिवर्तन गरेको तमसुक, जग्गा दृष्टिबन्धकमा राखिएको, लेनदेनको मुद्दा परेकोलगायतका विषय समेतको अवस्थामा विवरण पेस गर्न अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयमा भौतिकरूपमै उपस्थित भएर होस् या आयोगसमक्ष सिधै अनलाइनमार्फत निवेदन गर्दा पीडितले आफ्नो र विपक्षी व्यक्तिको व्यक्तिगत विवरण समावेश गर्नुपर्ने हुन्छ।
उक्त निवेदनमा समावेश हुने घटना विवरणमा कारोबार गर्नाको कारण, मिति, स्थान र रकमसमेत स्पष्ट खुलाउनुपर्छ । यसपछि विपक्षीबाट रकम कुन माध्यमबाट लिइएको हो, सो विषय निवेदनमा समावेश हुन्छ। रकम लिँदा तमसुक गरेरनगरेको, गरेको भए कारोबार रकम र तमसुकमा भएको रकमसमेत निवेदकले समावेश गर्नुपर्छ।











