‘संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय दुई वर्षभित्र टुंग्याउँछौं’
प्रधानमन्त्री दाहालले प्रमुख राजनीतिक दलहरूबीच संसदमा दर्ता भएको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुंगोमा पुर्याउने समझदारी भएको पनि बताए।
काठमाडौं, जेठ ७ : प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम दुई वर्षभित्र टुंग्याउने बताएका छन्।
१४औं राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रमुख राजनीतिक दलहरूबीच संसदमा दर्ता भएको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुंगोमा पुर्याउने समझदारी भएको पनि बताए।
प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता र सत्य निरुपणको काम अन्तिम चरणमा रहेको बताए।
‘बेपत्ता योद्धाहरूको छानबिनको कुरा र सत्य निरुपणको कुरा पनि अन्तिम चरणमा छ। सबैतिर सहमति बनाएर अब केही दिनभित्र त्यो विधेयक पारित गरेर आयोगमार्फत हामीले हिजोमात्रै तपाईंहरूले सुन्नु भयो नीति, कार्यक्रममा हामीले अबको दुई वर्षभित्र सम्पूर्ण काम टुंग्याउने गरी काम अगाडि बढाउँछौं भनिएको छ,’ उनले भने,
उनले बेपत्ता योद्धाहरूको स्थिति सार्वजनिक गर्ने, उनीहरूलाई सहिदको सम्मान दिने र परिवारलाई उचित क्षतिपूर्ति, परिपुरणसहितको व्यवस्था गर्न आफू लागिपर्ने बताए।
जनयुद्ध र जनआन्दोलनका योद्धाहरूलाई सहिद घोषणा गर्ने, फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने काम गरेकोमा आफूलाई गर्व लागेको उनको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले संसदभित्र सबै राजनीतिक दल र संसद् बाहिरका पीडितहरूसँग पनि समझदारी बनाएर सत्य निरुपण तथा बेपत्ता आयोग सम्बन्धी विधेयक पारित गर्ने पक्षमा सरकार रहेको बताए।











