शरणार्थी प्रकरणका फरार १८ जनालाई पनि प्रतिवादी बनाउनुपर्ने प्रहरीको राय
ठगीमा संलग्नताको आरोपमा प्रहरीले हाल पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण, टोपबहादुर रायमाझीसहित १६ जनालाई पक्राउ गर्दै हिरासतमा राखेको छ।
काठमाडौं, जेठ ७ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बाहेक पीडितहरूसँग रकम उठाएको प्रमाणका आधारमा फरार १८ जनाविरुद्ध मुद्दा चलाउने तयारी भएको छ।
ठगीमा संलग्नताको आरोपमा प्रहरीले हाल पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण, टोपबहादुर रायमाझीसहित १६ जनालाई पक्राउ गर्दै हिरासतमा राखेको छ।
उनीहरुबाहेक ठगी प्रकरणमा मुछिएका अन्य १८ जना फरार छन्। आजै जिल्ला सरकारी वकीलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी छ।
स्रोतका अनुसार पूर्वगृहमन्त्री रामबहादुर थापा 'बादल'का छोरा प्रतीक थापा, बादलका सल्लाहकार इन्द्रजित राईका छोरा नीरज राई, लक्ष्मी महर्जन, केशव तुलाधार, अशोक पोख्रेल, मोहन राई, धीरेन राई, दीपा हुमागाईं, विनिता लिम्बू, सुनिल बुढाथोकी, निरञ्जन खरेल, हरिभक्त महर्जन, राजेश अर्याल, आशिष बुढाथोकी, बेचन झा र रमा थापालाई फरार देखाएर मुद्दा चलाइनुपर्ने रायसहित प्रतिवेदन बुझाइने भएको छ।
प्रहरीले अनुसन्धान हुन बाँकीको हकमा विस्तृत प्रमाण संकलन गरी पछि मुद्दा चलाउने भएको छ। आज प्रहरी प्रतिवेदन बुझाएपछि सरकारी वकिलले प्रतिवेदनमा अध्ययनपछि रुजु गर्दै मुद्दा दायर गर्नेछ।











