लोककल्याणकारी विज्ञापनको भुक्तानी राेक्ने सूचना आपत्तिजनक : पत्रकार महासंघ
विज्ञापन बोर्डले यही जेठ १५ गतेसम्मको मात्र लोककल्याणकारी विज्ञापन प्रकाशनको भुक्तानी दिने भनी २०८० वैशाख ३१ गते प्रकाशन गरेको सूचनाप्रति महासंघले आपत्ति जनाएकाे हो।
काठमाडाैं, जेठ ७ : नेपाल पत्रकार महासंघले विज्ञापन बोर्डले छापामाध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापनबापतको रकम नपुग भएको कारण देखाउँदै जेठ १५ पछि दिन नसक्ने भनी प्रकाशन गरेको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञापन बोर्डले यही जेठ १५ गतेसम्मको मात्र लोककल्याणकारी विज्ञापन प्रकाशनको भुक्तानी दिने भनी २०८० वैशाख ३१ गते प्रकाशन गरेको सूचनाप्रति महासंघले आपत्ति जनाएकाे हो।
‘छापामाध्यमलाई निरन्तर रूपमा दिँदै आएको लोककल्याणकारी विज्ञापन प्रणालीलाई समयअनुसार थप परिमार्जित र व्यवस्थित गर्दै जानुपर्नेमा सूचना प्रकाशन गरेर लोककल्याणकारी विज्ञापन स्थगित गर्ने बोर्डको यो कार्यले छापामाध्यमलाई सशंकित बनाउनुका साथै बोर्डको नियतमाथि नै प्रश्न खडा गरेको छ,’ महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कोरोना संक्रमणकै कारण हालसमेत विविध समस्याहरू झेलिरहेका छापामाध्यमलाई विभिन्न बहानामा बोर्डले लोककल्याणकारी विज्ञापन प्रकाशनमा यस्ता व्यवधान खडा गर्दा साना लगानी तथा स्वरोजगारमूलक छापामाध्यम थप धराशायी हुने महासंघको ठहर छ।
‘लोककल्याणकारी विज्ञापनका सम्बन्धमा बोर्डले जारी गरेको यो सूचना आपत्तिजनक र छापामाध्यमको हितविरुद्ध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘महासंघ छापामाध्यमको हितविरुद्ध हुने यस्ता निर्णय तत्काल फिर्ता लिई छापामाध्यमलाई दिने लोककल्याणकारी विज्ञापनलाई निरन्तर गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ।’











