Kathmandu Press

लडाकु शिविरमा घोटाला भएको छैन : माओवादी केन्द्र

चारबुँदे विज्ञप्तिमा शिविरमा घोटाला भएको भन्ने विषय, नक्कली घुटानी शरणार्थी प्रकरण, आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले गरेका काम र सरकारको नीति तथा कार्यक्रमबारे पार्टीको धारणा व्यक्ति गरिएको छ।  
लडाकु शिविरमा घोटाला भएको छैन : माओवादी केन्द्र

काठमाडौं, जेठ ७ : माओवादी केन्द्रले लडाकु शिविरमा घोटाला नभएको स्पष्ट पारेको छ।

समसामयिक परिस्थितिबारे पार्टी कार्यालयमा आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष कृष्णबहादुर महराले झन्डै ६ वर्ष माओवादी सेनाको व्यवस्थापन तथा समायोजनमा राज्यले जिम्मा लिएको र कुनै घोटाला नभएको बताए। उनले एमालेलाई नक्कली भुटानी शरणार्थी प्रकरणले पोलेपछि लडाकु शिविरबारे प्रसंग उठाएको आरोप लगाए।

सो अवसरमा एक विज्ञप्ति पनि जारी गरिएको थियो। चारबुँदे विज्ञप्तिमा शिविरमा घोटाला भएको भन्ने विषय, नक्कली घुटानी शरणार्थी प्रकरण, आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले गरेका काम र सरकारको नीति तथा कार्यक्रमबारे पार्टीको धारणा व्यक्ति गरिएको छ।  

‘५ महिना शान्ति प्रकृयालाई सार्थक पार्न माओवादी सेनाको रेखदेख र व्यवस्थापनको निमित्त करिब ४६ करोड पेस्की लिई व्यवस्थापन गरिएकोमा शान्ति प्रकृयाको यथार्थ र विशिष्ठ परिस्थितिलाई मध्यनजर गरी सो रकम अनुदानमा परिणत गर्न संसदको सार्वजनिक लेखा समिति, शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सिफारिसमा नेपाल सरकारको २०६९ वैशाख १४ को निर्णय समेतलाई आधार बनाई महालेखा परीक्षकले २०६९ जेठ १९ गते सो रकम खर्चको समर्थन, फरछ्यौट र मिनाहा गरी समपरीक्षणको जानकारी पत्र शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय सिंहदरवारमा पठाएको छ,’ जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन २०६९ पेज नं. २५९ अनुसार उक्त बेरुजुको समपरीक्षण सार्वजनिक भएको पनि विज्ञप्तिमा उल्लेख छ। ‘सात मुख्य शिविर र २१ सहायक शिविरमा व्यवस्थापन रकम शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएको व्यहोरा जानकारी गराउदछौं,’ विज्ञप्तिमा भनिएको छ।

नक्कली भुटानी शरणार्थी कारवाही प्रक्रियाले राष्ट्रिय अपराधीहरुलाई कारबाही गरी राष्ट्रको सान जोगाउन उत्साह र मनोबल उठेको पनि माओवादी केन्द्रले बताएको छ। उपाध्यक्ष महराले विज्ञप्तिमार्फत भनेका छन्,  ‘यसले समग्र जनतामा जनसमुदायमा सकारात्मक तरंग पैदा गरेको छ। यसले गलत ढंगबाट पैसा आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गरेको छ र श्रम र उत्पादनप्रति सम्मान बढेको छ।’ दोषीहरुलाई कारवाही गर्न कुनै कसुर बाँकी नराखी कुनै कुनै पनि किसिमको सम्झौता नगर्न सरकारलाई सुझाव दिएको छ।

नेपाल सरकारले आफ्नो गतिमा नेपाल र नेपाली जनतालाई सकारात्मक सन्देश दिन खोजेको पनि माओवादी केन्द्रले बताएको छ। ‘नक्कली भुटानी शरणार्थीमाथि कारबाही, मिटरब्याजज पीडितलाई न्याय दिन कानुन निर्माण, विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध, बिदाको दिनमा कार्यालय सुचारु राख्ने काम, इतिहासमै पहिलो पटक समयमै पाठ्यपुस्तक विद्यालयमा पुऱ्याइएको, रोकिएको घरजग्गा कारोवार फुकुवा, अर्थतन्त्रमा सुधार, खेलाडीहरुलाई पुरस्कार, दुधको मुल्यमा समायोजन, राष्ट्रिय परिचयपत्र ७७ वटै जिल्लाबाट वितरण, खाद्यवस्तुमा विषादीको परीक्षण, मौद्रिक र वित्तीय नीतिमा खुकुलोपन आदि सरकारका सकारात्मक कदम हुन्,’ विज्ञप्तिमा उल्लेख छ।

सरकारको नीति तथा कार्यक्रमबारे पनि उनले पार्टीको धारणा व्यक्त गरेका छन्। ‘कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धिगरी आत्मनिर्भर हुने, रोजगारी प्रवर्दन कम्तिमा पाँच लाख रोजगारी सृजना गर्ने, सबैको घरधुरीमा विजुली पुयाउने, शान्ति प्रकृयाका बाँकी काम पुरा गर्ने, नेपालमा निर्मित सामाग्रीको प्रवर्दन गर्ने, सुशासन, भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता कायम गर्ने, वित्तीय अनुशासनमा मितव्ययीता अपनाउने, शिक्षालाई विद्यालयको सुधार गरी व्यवस्थित गर्ने, पर्यटन दशक मनाउने, सबै अस्पतालहरुमा विशेषज्ञ डाक्टरहरु सुनिश्चित गर्ने आदि जस्ता अरु थुप्रै प्रतिवद्धताहरुले सरकार अघी बढिरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १५:५६ बजे, आइतबार, जेठ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्