Kathmandu Press

एकपल्ट इच्छाशक्ति देखाऔं, भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछन् भन्ने विश्वास जनतामा दिलाऔं : ओली

प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि भइरहेको छलफलमा बोल्दै उनले भने, ‘एक पटक इच्छाशक्ति देखाऔं। यसलाई साझा इच्छाशक्ति बनाऔं। भ्रष्टाचारी एक दिन कानुनी कारबाहीमा पर्छ भन्ने स्थापित गराऔं।’
एकपल्ट इच्छाशक्ति देखाऔं, भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछन् भन्ने विश्वास जनतामा दिलाऔं : ओली

काठमाडौं, जेठ ७ : प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही गर्न साझा इच्छाशक्ति देखाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि भइरहेको छलफलमा बोल्दै उनले भने, ‘एक पटक इच्छाशक्ति देखाऔं। यसलाई साझा इच्छाशक्ति बनाऔं। भ्रष्टाचारी एक दिन कानुनी कारबाहीमा पर्छ भन्ने स्थापित गराऔं।’

सरकारले सबै प्रकारमा भ्रष्टाचार नियन्त्रण गर्छ भनेर पत्याउन नसकेको बताए। ‘भ्रष्टाचारको सबै विषयलाई कानुन दायरामा ल्याउनेछ। यस्ता वाक्यहरू छन् तर सरकार आफै भ्रष्टाचार र विकृतिबीच दुबिधा र भ्रम सिर्जना गरेर भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धताबाट उम्किन खोजेको देखिन्छ,’ उनले भने।

‘एकपल्ट इच्छाशक्ति देखाऔं, भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछन् भन्ने विश्वास नेपाली जनतामा स्थापित गरौं,’ उनले भने,  ‘तर यो सरकारले कहाँसम्म भने, प्रस्तावित नीतिका १८८ बुँदामा सरकारी जग्गा अतिक्रमण गर्नेमाथि छानिबन गर्ने विषय समावेश गर्नसम्म सकेको छैन।’

उनले सरकारले सरकारी जग्गा अतिक्रमणकारी उपरको अनुसन्धान मुद्दा दायर गर्ने कानुनलाई रोक्न प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरेको हुन सक्ने आशंका प्रकट गरे।

‘सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता भनेको छ तर बालुवाटारको ललिता निवास जग्गा, मातातीर्थको जग्गा, सर्दु जलाधार क्षेत्रको सट्टा भर्ना, धोबी खोला जग्गा काण्ड, तथाकथित ओम्नी खरिद काण्ड, वाइडब बडी काण्ड, क्यान्टोनमेन्ट प्रकरणलगायत विषय, जो विवादित छन्, त्यसमा अनुसन्धान र मुद्दा दायर गर्ने काम यथाशीघ्र गरिनेछ भनेर भन्न यो सरकारलाई कसले रोक्यो?’ उनले प्रश्न गर्दै भने।

प्रकाशित मिति: १३:३४ बजे, आइतबार, जेठ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्