सीएमसी फर्काउने विषयमा मन्त्री र सचिवबीच द्वन्द्व
काठमाडौं, ५ फागुन : खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले नै मेलम्ची खानेपानी आयोजनामा इटालियन निर्माण कम्पनी सीएमसीलाई फर्काउन नचाहेको तथ्य....

काठमाडौं, ५ फागुन : खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले नै मेलम्ची खानेपानी आयोजनामा इटालियन निर्माण कम्पनी सीएमसीलाई फर्काउन नचाहेको तथ्य खुलेको छ । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर सीएमसी फर्काउने पहलमा लागेपनि सचिव ठाकुरले भने नयाँ प्रक्रिया अगाडी बढाउन थालेका छन् ।
आयोजना निर्माणको जिम्मा लिएको इटालियन निर्माण कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमसी) सँगको ठेक्का सम्झौता गत साता रद्द गरिएको थियो । मन्त्री मगर वार्ता गर्ने तयारीमै रहेको बेला सचिव ठाकुरले विकास समितिमार्फत हतार हतार ठेक्का सम्झौता तोडेका थिए ।
मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सचिवको असहयोगले नै सीएमसी भागेको हो । सचिव ठाकुर यतिवेला सीएमसीको विषय आउने बित्तिकै पन्छने गरेका छन् । “सचिवले कसलाई खुशी पार्न सीएमसी फर्काउन नचाहेको हो, बुझ्न सकिएको छैन,” ती अधिकारीले भने । अहिले मन्त्री मगर र सचिवबीच मेलम्चीको विषयलाई लिएर बोलचालसमेत हुन छाडेको ती अधिकारीले बताए ।
खानेपानी मन्त्री मगर सिएमसीलाई फर्काउन इच्छुक रहे पनि मेलम्ची खानेपानी विकास समितिका अध्यक्षसमेत रहेका सचिवले कुनै पनि हालतमा सिएमसी फर्काउन नहुने अड्डी लिएपछि आयोजना झनै अन्योलमा परेको छ ।
स्रोतका अनुसार सचिव ठाकुरले नेपाली ठेकेदार कम्पनी सिइ कन्स्ट्रकसनलाई फिल्ड भिजिटसमेत गराइसकेको र कम्पनी सहमत भए उनी सिधै मन्त्रीपरिषदद्वारा निर्णय गराएर काम गराउन लागिपरेका छन् । तर, अन्तर्राष्ट्रिय कानूनअनुसार सिएमसीको मुद्दा टुङ्गो नलागेसम्म मेलम्चीको काम अगाडि बढाउंदा नेपालले ठूलो क्षति बहोर्नु पर्ने छ ।
मेलम्ची आयोजनाबाट सीएमसी भागेसँगै काठमाडौँमा पानी आउने सपना तीन वर्ष पर धकेलिएको छ । यद्यपि खानेपानी सचिव ठाकुरले भने आगामी बैशाखसम्ममा जसरी पनि मेलम्ची काठमाडौं ल्याइछाड्ने दाबी गरिरहेका छन् ।
मेलम्ची पूर्ण रुपमा सञ्चालनमा आउन झन्डै तीन वर्ष लाग्ने भए पनि पटक पटक समय भने तोकिंदै आएको छ । ०७३ बैशाखदेखि पटक पटक मेलम्ची काठमाडौंबासीका घर घरमा आउने समय तोकिए पनि सो विषय भ्रमपूर्ण भएको संलग्न इञ्जिनियर तथा निर्माण व्यवसायीहरूको दाबी छ ।
०७३ को वैशाखदेखिका प्रत्येक पाँच महिनामा मेलम्चीको पानी काठमाडौं ल्याउने समय तोकिए पनि अस्थायी रुपमा मात्रै ल्याउन लागिएको जानकारहरू बताउँछन् ।
मेलम्ची खानेपानी विकास आयोजनाका एक कर्मचारीका अनुसार ठेकेदार कम्पनीले निरन्तर काम गरेको भए पनि मेलम्चीको निर्माण कार्य पूर्ण रुपमा सम्पन्न हुन करिब तीन वर्ष लाग्ने बताए । “अब नयाँ प्रक्रिया शुरु गर्दा तीन वर्षमा पनि मेलम्चीको पानी काठमाडौं आउन समस्या पर्ने छ,” ती अधिकारीले भने ।
“मेलम्चीको निर्माण कार्य पूर्णरुपमा सम्पन्न भएर स्थायी रुपमा पानी ल्याउन अझै तीन वर्षभन्दा बढी लाग्छ । अहिले तोकिन लागेको मिति त आफ्नो कार्यकालको गफ मात्रै हो,” उनले भने, “पानी ल्याए पनि दुई-तीन महिनाका लागि ल्याए अस्थायी बाँध भत्किएपछि जनतालाई नयाँ तरिकाले झुक्याउने खेल मात्रै हुन्थ्यो ।”
मेलम्चीको निर्माणका प्रत्यक्ष सहभागी एक निर्माण व्यवसायीले पनि पानी अहिले आउनसक्ने सम्भावना नहुँदा नहुँदै पनि मिति तोकिरहँदा अचम्ममा परेको बताए । काठमाडौं प्रेससँगको कुराकानीमा उनले भने, “सरासर काम भए पनि अहिले पानी कुनै पनि हालतमा आउँदैन । देखाउनका लागि जबर्जस्ति ल्याए पनि वर्षातमा अस्थायी रुपमा बाँधिएका सबै बाँध फुट्छन् । पानी रोकिन्छ ।” उनले पानी रोकिएपछि काठमाडौंकै खोलाहरू ट्रिटमेन्ट गर्ने भित्री योजनामा सरकार रहेको पनि बताए ।
सरकारले गत कात्तिकमै मेलम्चीको पानी काठमाडौं ल्याउने समय तोकेको थियो । तर, मुख्य ठेकेदार कम्पनी सिएमसीसँग विवादपश्चात ठेक्का नै तोडिएपछि मेलम्ची आयोजनाबारे झनै अन्योल बढेको छ ।












-(86)-1764936079.jpg)