नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न ओलीकाे माग
आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम शुक्रबारको संघीय संसदमा पेस भएको थियो। त्यसमाथि आजदेखि छलफल सुरु भएको हो। छलफलको सुरुमा ओलीलाई बोल्न दिइएको हो।
काठमाडौं, जेठ ७ : प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम फिर्ता लिन र पुनर्लेखन गर्न माग गरेका छन्।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा भाग लिँदै उनले भने, ‘नीति तथा कार्यक्रम पास भएन भन्ने कुराले प्रतिपक्षले अप्ठ्यारो पार्छ भन्ने लाग्छ भने हामी भन्छौँ यो पुनर्लेखन गर्ने छुट दिन्छौँ। यो देशका निम्ति बनाउनुस्।’
आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम शुक्रबारको संघीय संसदमा पेस भएको थियो। त्यसमाथि आजदेखि छलफल सुरु भएको हो। छलफलको सुरुमा ओलीलाई बोल्न दिइएको हो।
ओलीले प्रस्तावित नीति तथा कार्यक्रमले लोकतन्त्रप्रति सबैको विश्वास मजबुत बनाउने विस्तृत खाका नदिएको र सरकारप्रति विश्वास बढाउने कुनै कार्यक्रम पनि दिन नसकेको आरोप लगाए। उनले नीति तथा कार्यक्रममा लोकतन्त्रको आत्मा नरहेको टिप्पणी गरे। सरकारले देशको असामान्य आर्थिक अवस्थाको यथार्थता लुकाउन खोजेको उनको आरोप छ।











