ओलीले प्रधानमन्त्रीलाई सोधे- राजस्व संकलनका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्न मिल्छ?
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा आज भइरहेको छलफलमा बोल्दै ओलीले राजस्व संकलन देशको आन्तरिक विषय भएको बताए।
काठमाडौं, जेठ ७ : एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दातृ समुदायसमक्ष देशभित्र राजश्व संकलन गर्न कठिनाइ परिरहेको भन्दै गुनासो सुनाएको भन्दै आपत्ति जनाएका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा आज भइरहेको छलफलमा बोल्दै ओलीले राजस्व संकलन देशको आन्तरिक विषय भएको बताए।
‘सरकार प्रमुखले दातृ समुदायसँगको ब्रिफिङमा राजस्व संकलन गर्न कठिनाइ भएको उल्लेख गर्न मिल्छ?’ उनले भने, ‘राजस्व संकलन गर्न पनि सरकारले अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ? राजश्व उठाउने अनिवार्य प्राथमिक कर्तव्य सरकारको होइन?’
गत जेठ १ गते प्रधानमन्त्री प्रचण्डले कूटनीतिक समुदायसँग छलफल गर्ने क्रममा देशको आर्थिक अवस्थाबारे ब्रिफिङ गरेका थिए । उक्त छलफलका क्रममा प्रधानमन्त्रीले राजश्व संकलनमा अप्ठेरो परिरहेको विषय उठाएको भन्दै ओलीले आपत्ति जनाएका हुन्।
उनले सरकार आफ्नो प्रारम्भिक कार्यक्रममै असफल भएको टिप्पणी गरे। नीति तथा कार्यक्रम असफल दस्तावेज बनेको आरोप उनले लगाए।











