नीति तथा कार्यक्रम विगतसँग जोडिन सकेको छैन, देशका प्राथमिकतालाई नै छोडेको छ : ओली
‘विगतमा थालिएका राम्रा कामको निरन्तरता यो सरकारको जिम्मेवारी होइन? संकटमा परेको अर्थतन्त्र उकास्नु यो सरकारको जिम्मेवारी होइन?’
काठमाडौं, जेठ ७ : एमाले अध्यक्ष केपी ओलीले सरकारको नीति तथा कार्यक्रम नेपालमै पहिलोपटक आएजस्तै भएको बताएका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा आज भइरहेको छलफलमा बोल्दै ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम विगतसँग जोडिन नसकेको भन्दै देशका प्राथमिकतालाई नै नीति तथा कार्यक्रमले समेट्न नसकेको बताए।
‘यो नीति तथा कार्यक्रम नेपालमा पहिलोपटक आएजस्तो छ, मानौं यस अघि देशमा नीति तथा कार्यक्रम नै आउँदैनथे। यसले राष्ट्रले प्राथमिकतामा राखेका आयोजना र दिगो विकासको मान्यतालाई नै छोडेको छ,’ उनले भने, ‘विगतमा थालिएका राम्रा कामको निरन्तरता यो सरकारको जिम्मेवारी होइन? संकटमा परेको अर्थतन्त्र उकास्नु यो सरकारको जिम्मेवारी होइन?’
उनले देशको अर्थतन्त्रको अवस्थाबारे सरकारले नीति तथा कार्यक्रममा स्पष्ट ढंगले उल्लेख नगरेको आरोप लगाए। ‘बुँदानम्बर पाँचमा भन्छ अर्थतन्त्र सब ठिकठाक छ, १४औं नम्बरमा देश समस्यामा छ। सबै परिसूचकमा समस्या छ। सरकारले नबुझेको कि बुझ्न नचाहेको?’ उनले भने।
दुई महिना पुग्दानपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कटाक्ष गर्दै उनी सरकारको मुटु प्रत्यारोपण गर्नतिर लागेको बताए। आफूले विशाल हृदयका साथ नीति तथा कार्यक्रमको दस्तावेज सुनेको र पढेको उनले बताए।
‘नीति तथा कार्यक्रमको आधारस्तम्भ पहिल्याउने कोसिस गरें। कुन गन्तव्यका लागि यो नीति तथा कार्यक्रम आएको ? त्यो मैले पहिल्याउने कोसिस गरें । कार्यान्वयनको मोडालिटी र ढाँचा कसरी तय भएको रहेछ अध्ययन गर्ने कोसिस गरें। निर्वाचनको क्रममा जनतासँग मत माग्दा खासगरी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित गठबन्धनका दलहरुको घोषणापत्र र यस नीति तथा कार्यक्रमको लेखाजोखा पनि गरें,’ उनले भने।
सरकारप्रतिको विश्वास, जनआकांक्षा सम्बोधनको ग्यारेन्टी, सरकारको मार्गचित्र नीति तथा कार्यक्रमले नै निर्धारण गर्ने भन्दै उनले त्यस अनुसार आफूले नपाएको बताए। उनले सरकारको नीति तथा कार्यक्रमको उद्देश्य नभएको र गन्तव्य पनि नभेटिएको बताए।











