सुदूरपश्चिममा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
मुख्यमन्त्री शाहले शनिबार नै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन्।
धनगढी, जेठ ६ : सुदूरपश्चिम प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शनिबार दिउँसाे प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरु पृथ्वीबहादुर सिंह, झपट साउद र रमेश धामीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराएका हुन्। त्यस्तै राज्यमन्त्री गीतादेवी माललाई मुख्यमन्त्री कमलबहादुर शाहले शपथ गराए।
मुख्यमन्त्री शाहले शनिबार नै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन्। कांग्रेसबाट मन्त्री सिंह ले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
त्यस्तै माओवादी केन्द्रबाट मन्त्री बनेका साउदले सामाजिक विकास मन्त्रालय र धामीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाए। गीतादेवी उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी हुन् ।
मुख्यमन्त्री साह २०७९ को माघ २६ गते नियुक्त भएकाे भोलिपल्टै कांग्रेसका प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गरेका थिए। देउवाले भौतिक पूर्वाधार र शाहीले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाएका छन्। त्यसपछि मन्त्रिपरिषद विस्तार भएकाे थिएन।











