सरकारले ल्याएको नीति तथा कार्यक्रम गन्तव्यहीन : ओली
ओलीले सरकारको नीति तथा कार्यक्रममा बहुवर्षीय योजनालाई समेट्न नसकेको र आगामी दिशा समेत देखाउन नसकेको भन्दै यसलाई समर्थन गर्न नसकिने बताएका हुन्।
काठमाडाैं, जेठ ६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम गन्तव्यहीन भएको भन्दै यसलाई समर्थन गर्न नसकिने बताएका छन्।
शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सरकारको नीति तथा कार्यक्रममा बहुवर्षीय योजनालाई समेट्न नसकेको र आगामी दिशा समेत देखाउन नसकेको भन्दै यसलाई समर्थन गर्न नसकिने बताएका हुन्।
नीति तथा कार्यक्रममा समावेश बिषयहरुलाई हेर्दा नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो देखिएको उनले टिप्पणी गरे। उनले अहिले अर्थतन्त्र संकटतर्फ गइरहेको भन्दै सुधारका केही संकेतहरू पनि सन्तोषजनक नरहेको बताए।
सरकारको कार्यक्रममा संकटमा परेको उद्योगधन्दालाई विकास गर्ने विषय नभएको, आत्मनिभर्रता तर्फ कुनै योजना नरहेको, मुलुकको आर्थिक नीति नै समावेश नगरिएको उनले बताए।
मिठामिठा शब्दले नीति कार्यक्रम पूर्ण नहुने भन्दै उनले समाजप्रति गम्भीर नभई कार्यक्रम आएको उल्लेख गरे।
उनले अहिले संघीयताप्रति गम्भीर प्रश्न उठेका बेला यसलाई सवलीकरण गर्ने विषय समावेश नभएको जिकिर गरे। अहिलको अवस्थामा खर्च घटाउने भनेपनि कसरी घटाउने भन्ने विषय पनि कार्यक्रममा नभएको उनको भनाइ छ।
उनले नीति तथा कार्यक्रमले अहिलेको आर्थिक,सामाजिक, राजनीतिक समस्या पहिल्याउन नसकेको भन्दै यसको संसदमा यसको विरोध गर्न सांसदहरुलाई निर्देशन दिए। उनले सरकारको कार्यक्रमलाई पास हुन दिन नहुने बताए।











