सहरमा हरियाली प्रवर्धनका लागि एक लाख बिरुवा रोप्दै कामपा
सहरी हरियालीका प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्ने सपना पूरा गर्ने अभियान रहेको नगर प्रमुख बालेन्द्र साहले बताए।
काठमाडाैं, जेठ ६ : सहरमा हरियाली प्रवर्धनका लागि एक लाख बिरुवा रोप्ने अभियानअन्तर्गत आज काठमाडौं महानगरपालिकाले शंखधरपार्क (रत्नपार्क) मा वृक्षरोपण गरेको छ।
रोपिएका बिरुवा कपुर, धूपी र समीका छन्। अभियानको थालनी गर्दै यसअघि कोटेश्वर–जडीबुटी सडक खण्डमा एक सय २० कपुरका बिरुवा रोपिसकिएको छ। सहरी हरियालीका प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्ने सपना पूरा गर्ने अभियान रहेको नगर प्रमुख बालेन्द्र साहले बताए।
सहरी हरियालीका लागि धार्मिक मान्यता पाएका, फूल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वानस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको प्रमुख साहको भनाइ छ। चराचुरुङ्गी तथा अन्य जीव जनावरलाई खाना र बास उपलब्ध गराउनसक्ने क्षमता भएका स्थानीय जातका बोट बिरुवालाई जोगाउने योजनाअनुरुप रैथाने ९इडेमिक० र प्राकृतिक रुपमा उम्रने (इन्डिजेनियस) विरुवा रोपण कार्यलाई पहिलो प्राथमिकतामा राखिनेछ।
सन् १८०२ मा एक वर्षसम्म काठमाडौँको नारायणहिटी र स्वयम्भूमा वैज्ञानिक बुचानन हामिल्टनले बोटबिरुवाको अध्ययन गरिएको थियो। त्यसबाट ४१ प्रजातिका बिरुवाको नाम नेवारी लवजमा राखिएको छ। अन्तरराष्ट्रियस्तरमा नेवारी लवजबाटै उच्चारण गरिने ती बिरुवा बोसिस्वाँ, नःकुस्वाँ, भोलुस्वाँ, लुँकुलिस्वाँ, गुँसीलगायतका हुन्। यी बिरुवाको वैज्ञानिक नाम क्रमशः बेटुला बोसिस्वाँ ९अल्नस नेपालेन्सिस०, लौरस नकुस्वाँ, डाँफे भोउलु, लुकुलिया ग्राटिसिमा, पोडोकार्पस नेरिफोलियस हो। यी बिरुवा स्थानीय हावापानीमा सजिलै हुर्कने तथा नेपाली जनजीवनसँग परिचित भएकाले जैविक र वानस्पतिक विविधताको संरक्षणमा सघाउ पुग्नेछ।
वनस्पतिविज्ञ प्रकाश खड्गीका अनुसार नेपालमा पाइने एक सय ५८ प्रकारका रूख र ७५ प्रकारका बुटाहरु विश्वका अन्त कतै पाइँदैनन्। यहाँ तीन सय १२ प्रकारका रैथाने जातका बोट बिरुवा छन्। सडकको किनारा, पार्क वा घरमा जहाँ ठाउँ छ, त्यहाँ आफ्नै वातावरणमा परिचित बोट बिरुवा रोप्न वनस्पतिविज्ञको सुझाव छ। यसरी रोपिने बिरुवामा उत्तिस, काब्रो, लप्सी, सिमल, पैयूँ, लेक पाङ्ग्रा, सिरिङ्गे, मिकुसी स्वाँ जस्ता बिरुवा छन्। सहरको पानी, माटो, हावा, तापक्रम व्यवस्थापन गर्न वृक्षारोपण आवश्यक छ। यो आवश्यकता स्थानीय जातका बोटबिरुवाले पूरा गराउन सक्छन्।
कामपाको उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाका प्रमुख नवराज थापाका अनुसार रत्नपार्कसँगै खुल्ला मञ्च क्षेत्र तथा पार्कसँगै वडासँग समन्वय गरेर निर्धारण भएका ठाउँमा बिरुवा रोपिनेछ।











