‘एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ’
‘काठमाडौंभित्रका सडकमा आवश्यक समन्वय नहुँदा भत्काउने र बनाउने क्रम चलेको छ, सबै निकायको आवश्यक समन्वय गरी एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ।’
काठमाडौं, जेठ ६ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौंमा एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्ने बताएका छन्।
जनकल्याण सामाजिक केन्द्रले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर तथा वातावरण कार्यक्रममा उजले काठमाडौंभित्रको विकासका लागि एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्ने बताएका हुन्।
‘काठमाडौंभित्रका सडकमा आवश्यक समन्वय नहुँदा भत्काउने र बनाउने क्रम चलेको छ, सबै निकायको आवश्यक समन्वय गरी एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ’, उनले भने।
काठमाडौं क्षेत्र नं ५ का सांसद पौडेलले काठमाडौं उपत्यकाभित्रको विकासका लागि सुविधासम्पन्न प्राधिकरण निर्माण गर्नुपर्ने बताए। काठमाडौं संसारको प्रदूषित सहर बन्दै गएकाले यसलाई सफा, सुन्दर र हराभरा बनाउन नागरिक स्तरबाट लाग्नुपर्ने उनको भनाइ थियो।
नेता पौडेलले खोला क्षेत्रको वरपर करिडोर निर्माण गरेर त्यहाँ वृक्षरोपण गर्न सकेमात्र काठमाडौंको वातावरण राम्रो हुने बताए।











