राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु : प्रधानमन्त्री दाहाल
उनले शीर्ष नेताहरुबीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसद्का विभिन्न समिति, सङ्क्रमणकालीन न्याय र गणतन्त्र विरोधी प्रवृत्तिलाई निरुत्साहित गर्न मै केन्द्रित हुने गरेको स्पष्ट गरे।
काठमाडौं, जेठ ६ : प्रधानमन्त्री पुष्पकमल दाहालले देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन्। कान्तिपुर हाफ म्याराथन’को शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्।
‘यो परिवर्तनमार्फत नै जनतालाई सेवा दिन सकिन्छ, सुशासन दिन सकिन्छ र विकास दिन सकिन्छ भन्ने संकल्पसहित यो पटक म प्रधानमन्त्रीको जिम्मेवारीमा छु,’ उनले भने, ‘हिजोका दिनमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिन्छ भन्ने उद्देश्यले नै हामी दलहरु बीच छलफलमा छौं।’
उनले शीर्ष नेताहरुबीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसद्का विभिन्न समिति, सङ्क्रमणकालीन न्याय र गणतन्त्र विरोधी प्रवृत्तिलाई निरुत्साहित गर्न मै केन्द्रित हुने गरेको स्पष्ट गरे।
प्रधानमन्त्री दाहालले भारतसँग खुला सीमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता–जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्नुहुँदै आगामी भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने बताए।
प्रधानमन्त्री दाहालले सरकार खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर देशको प्रतिष्ठा र समाजमा अनुशासन कायम गर्न लागेको बताए।
‘अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ संकल्पसहित अगाडि बढेको छ । त्यसमा खेलकुदलाई प्रोत्साहित गर्ने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको म स्पष्ट गर्न चाहन्छु,’ उनले भने।











