‘भ्रष्टाचारको जालो अन्त्य नगर्दासम्म मुलुकको विकास हुँदैन’
उनले समृद्धिको तगारो कमिसन र भ्रष्टाचार नै भएकाले यसलाई नियन्त्रण गरी मुलुकालाई विकास र समृद्धिको दिशामा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए।
काठमाडौं, जेठ ५ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म मुलुकको विकास र समृद्धिले सार्थकता नपाउने बताएका छन् ।
गृहमन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को टोलीसँगको भेटमा उनले समृद्धिको तगारो कमिसन र भ्रष्टाचार नै भएकाले यसलाई नियन्त्रण गरी मुलुकालाई विकास र समृद्धिको दिशामा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए।
‘कमिसन र भ्रष्टाचारलाई नतोड्दासम्म राजनीतिक परिवर्तनमार्फत सामाजिक आर्थिक रुपान्तरण, विकास र समृद्धिको चाहना पूरा गर्नसक्ने अवस्था छैन । यसलाई सार्थकता दिन स्वच्छता, दृष्टिकोण र प्रतिबद्धता चाहिन्छ’, उनले भने।
गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याएरै छाड्ने दृढता व्यक्त गरे। उनले आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर विदेश पठाउँदै पैसा कमाउने धन्दा सामान्य ठगीको घटना मात्रै नभएको भन्दै यो संगठीत अपराध भएको उल्लेख गरे।
उपप्रधानमन्त्री श्रेष्ठले देशको छविलाई कमजोर र अपमानित पार्ने, बेइज्जति गर्ने काम पनि जोडिएकाले यो राज्यविरुद्धकै अपराध किन होइन? भन्ने प्रश्न पनि उठेको बताए।
‘अनुसन्धानको प्रक्रिया नसकिएकाले नैतिक र कानुनीरुपले पनि सबै कुरा भन्नसक्ने अवस्था छैन । तपाईंहरुलाई म बारम्बार दोहोर्याएर भनिरहेको छु कोही निर्दोष फस्ने छैनन् र कोही दोषी उम्कने छैनन्,’ उनले भने, ‘यही दृष्टिकोण र मान्यताका आधारमा प्रहरीले निष्पक्ष अनुसन्धान गरिरहेको छ ।’
तथ्य र प्रमाणका आधारमा यस प्रकरणलाई निष्कर्षमा पुर्याउने गरी अनुसन्धान भइरहेको भन्दै उनले अनुसन्धान जहाँ र जोसँग पुग्छ सोहीअनुसार कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको बताए।











-1784808429.png)