Kathmandu Press

गाउँघरमा देउडा र रतेडीको मोह घट्दै

उडा र रतेडीको साटो बालबालिका र युवा पिँढीहरु आधुनिक डिजेका बाजामा रमाएको देखिन्छ। आधुनिक बाजाले त हाम्रो संस्कृति हराउँदै गएको बूढापाकाहरुले  बताए। 
गाउँघरमा देउडा र रतेडीको मोह घट्दै

काठमाडाैं, जेठ ५ : देउडा र रतेडी सुदूरपश्चिमका पहिचान हुन्। कुनै बेला गाउँघरमा विवाह, व्रतबन्धजस्ता कार्यक्रममा रातभरि खेलिने देउडा र रतेडी आजभोलि त्यति देखिँदैन। देउडा र रतेडीको साटो बालबालिका र युवा पिँढीहरु आधुनिक डिजेका बाजामा रमाएको देखिन्छ। आधुनिक बाजाले त हाम्रो संस्कृति हराउँदै गएको बूढापाकाहरुले  बताए। 

विगतमा विवाह व्रतबन्ध हुँदा गाउँघरमा रतेडी र देउडा खेल्नकै लागि वल्लो गाउँ पल्लो गाउँबाट महिला, बूढापाकाहरु जम्मा भएर देउडा र रतेडीमा रमाएको देखिन्थ्यो भने आजभोलि यस्ता कार्यक्रममा बालबालिका र युवा पिँढीहरु बढी रमाउने गरेका स्थानीयवासी खिमादेवी विश्वकर्माले बताए।

Hardik ivf

'गाउँघरमा कसैको विवाह भए रातभरि खेलिने देउडा र रतेडी आजभोलि खेलेको देखिँदैन', उनले भने, 'बूढापाकाहरु देउडा र रतेडी निकै मन पराउँछन् तर अचेलका युवाहरु खेल्न रुचाउँदैनन्।' खिमादेवीलाई विगतमा रातभरि देउडा खेलेको याद अझै छ। 'एकपटक रातभरि रतेडी खेलेका थियौँ', उनले भने, 'हिजो आज देउडा १÷२ घन्टा पनि खेल्न पाइँदैन।'

कैलालीको जानकी गाउँपालिकाका रतिराम सापकोटालाई आजभोलिका विवाह तथा उत्सवमा खासै रमाइलो लाग्दैन। देउडा खेल्न निकै मनपराउने उहाँ आधुनिक नृत्य हेर्न मन नलाग्ने बताए। 'रतेडी र देउडा गीतभन्दा पनि आधुनिक बाजामा मानिसहरु ९डिजे० बढी रमाएको देख्न सकिन्छ', उनले भने, 'हाम्रा पालामा लगातार दुई दिनसम्म देउडा खेलिन्थ्यो। देउडामा गरिने सवाल जवाफ सुन्न र हेर्न अझै पनि निकै आनन्द लाग्छ।'

देउडामा गरिने सवाल जवाफले समाजको चित्रण गर्ने सापकोटाले बताए। 'गीतले समाजको परिवेश र अवस्था झल्काउँथ्यो', उनले  भने, 'बाजागाजा बजाउँदा रमाइलो देखिए पनि मौलिकता छैन।'

त्यस्तै जोशीपुर– ७ लोहागढकी बासुदेवी विकलाई पनि विवाहमा बजाइने आधुनिक बाजा पटक्कै मन पर्दैन। 'पहाडमा रातभरि रतेडी र देउडा खेल्थ्यौँ', उनले भने, 'यो डिजे बाजा झगडा बनाउने साधन हो जस्तो लाग्छ। जुन घरमा उत्सव छ त्यहाँ युवाबीच झगडा हुने र कुटपिटसमेत हुने गर्छ। रमाइलो हेर्न जान पनि डर लाग्छ।'

बासुदेवीले देउडा र  रतेडी हेर्न नपाइने र आधुनिक बाजाको नाचगान हेर्न जाँदा पनि हल्लाखल्ला र झगडा बढी हुने भएकाले कार्यक्रममा जान छोडेको बताए। पछिल्ला समय रतेडी र देउडा पनि डिजे बजाएरै खेल्ने गरेको देखिन्छ। 'मुखले गीत भन्ने र खेल्ने पराम्परा पनि हराउँदै गएको छ', साहित्य तथा संस्कृतिविद् डा योगेन्द्र बजगाईंले जोड दिनुभयो,' आधुनिक गीतले हाम्रो संस्कृतिमा नराम्रो असर गरेको छ। हाम्रा संस्कार र संस्कृतिसँग जोडिएका परम्परागतरूपमा गाइने देउडा संरक्षणका लागि जानकार सबै लाग्नुपर्छ।'

उनले रतेडी र देउडा सुदूरपश्चिमका संस्कृति भएकाले यसलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए। 'हातमा हात, पैतलामा पैतला मिलाई रतेडी र देउडा खेल्नु हाम्रो संस्कृति हो', संस्कृतिविद् डा बजगाईंले भने, 'संरक्षणकर्मीले यसमा युवा पुस्तालाई  सहभागी गराउन बढाउन योजना बनाउन जरुरी छ।'

प्रकाशित मिति: १५:२९ बजे, शुक्रबार, जेठ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्