प्रधानमन्त्रीमाथि ‘अवहेलनामा कारबाही’को माग सहित संसदमा उजुरी
अधिवक्ता समेत रहेका नेपालले टिकापुर घटना छानबिन गर्न गठन भएको गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने बिषयमा सांसदहरुसँगको प्रश्नउत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गलत जवाफ दिएको जिकिर उजुरीमा गरिएको छ।
काठमाडौं, जेठ ५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदप्रति अवहेलना गरेको दाबीसहित झापा– २ बाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार रहेका भद्रप्रसाद नेपाल (स्वागत नेपाल) ले संसद् सचिवालयमा उजुरी दिएका छन्। उजुरीमा प्रधानमन्त्रीलाई ३ महिना कैद हुनुपर्ने माग छ।
अधिवक्ता समेत रहेका नेपालले टिकापुर घटना छानबिन गर्न गठन भएको गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने बिषयमा सांसदहरुसँगको प्रश्नउत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गलत जवाफ दिएको जिकिर उजुरीमा गरिएको छ।
संसदको ‘रोस्टम’ बाट ढाँटेर जवाफ दिएको भनाई समेत नेपालको छ। सांसदहरु शिशिर खनाल र गंगाराम चौधरीले सोधेको प्रश्नमा प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतको फैसलाका कारण टीकापुर लगायत तराई-मधेसमा भएका घटनाको विषयमा छानबिन गर्न गठन भएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार असमर्थ भएको बताएका थिए।
उक्त दाबी गलत रहेको भन्दै अधिवक्ता नेपालले उजुरी दिएका हुन्। प्रधानमन्त्रीले जानाजान् संसदलाई ढाँटेका कारण संविधानको धारा १०३ अनुसार सजाय हुनुपर्ने माग उनको छ।
नेपाल जनताले पदबाट फिर्ता बोलाउन पाउने अधिकार ‘राइट टु रिकल’ लागू गराउन भन्दै झापा–२ मा संघीय संसदको उम्मेदवार बनेका थिए। उनी तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणामाथि लगाइएको महाभियोग विरोधी अगुवा अभियन्ता समेत हुन्।











