Kathmandu Press

भरतपुर अस्पताल : एक अर्ब १९ करोडभन्दा बढीको बिमामार्फत उपचार

अस्पतालमा २०७४ भदौ १ गतेदेखि बीमा कार्यक्रम लागू भएको हो। गएको चैत मसान्तसम्म अस्पतालमा रु एक अर्ब १९ करोड ३७ लाख २६ हजार तीन सय ५८ निकासा भइसकेको छ। गत चैतसम्ममा भुक्तानी आउन बाँकी रु पाँच करोड हाराहारी छ।
भरतपुर अस्पताल : एक अर्ब १९ करोडभन्दा बढीको बिमामार्फत उपचार

चितवन, जेठ ५ : चितवनको भरतपुरस्थित सरकारी अस्पतालले विगत पाँच वर्षमा रु. एक अर्ब १९ करोडभन्दा बढीको स्वास्थ्य बीमामार्फत उपचार सेवा दिएको छ। जसबाट सात लाख एक हजार एक सय ४१ पटक सेवाग्राहीले सेवा लिएका छन्।
 
अस्पतालमा २०७४ भदौ १ गतेदेखि बीमा कार्यक्रम लागू भएको हो। गएको चैत मसान्तसम्म अस्पतालमा रु एक अर्ब १९ करोड ३७ लाख २६ हजार तीन सय ५८ निकासा भइसकेको छ। गत चैतसम्ममा भुक्तानी आउन बाँकी रु पाँच करोड हाराहारी छ।

अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम प्रमुख लीलाधर पौडेलका अनुसार यस आर्थिक वर्षको चैतसम्ममा रु ३९ करोड १० लाख ७४ हजार चार सय ७१ निकासा भइसकेको छ। गत आर्थिक वर्षमा रु ३० करोड ७९ लाख ७४ हजार पाँच सय १२ निकासा भएको थियो। आर्थिक वर्ष २०७७/७८ मा रु नौ करोड ७२ लाख ५२ हजार एक सय ८१ निकासा भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा यो रकम रु २३ करोड ८८ लाख चार हजाार सात सय ५० थियो। आव ०७५/७६ मा रु १४ करोड ५७ लाख २८ हजार दुई सय २२ थियो भने पहिलो वर्ष २०७४/७५ मा रु एक करोड २८ लाख ९२ हजार दुई सय २० थियो।
 
पौडेलका अनुसार अस्पतालमा दैनिक रु सात लाखदेखि ११ लाखसम्मको दाबी हुने गर्दछ। बीमाका बिरामी दैनिक सरदर ६ सयजना आउने गर्दछन्। एकै दिन एक हजार चार सयसम्म बीमाका बिरामी आएको तथ्याङ्क रहेको उनको भनाइ छ। आकस्मिक सेवामा सरदर ६५ जना दैनिक छन् भने यो सङ्ख्या एक सयसम्म पुग्ने गरेको छ। दैनिक भर्ना दर २० जना रहेको उनले जानकारी दिनुभयो। यो सङ्ख्या बढीमा ५० जनासम्म हुने गरेको छ।
 
चालु आर्थिक वर्षको चैत मसान्तसम्म बीमामार्फत ७० हजार चार सय १९ जनाले एक लाख ७६ हजार ६ सय सातपटक सेवा लिएका छन्। अस्पतालबाट रिफर भएर जानेको सङ्ख्या चालु आर्थिक वर्षमा सात हजार तीन सय चार हुँदा रिफर भएर आउनेको सङ्ख्या चार हजार चार सय तीन रहेको छ। अस्पतालमा आउने बिरामीमध्ये ७१ प्रतिशत बीमाका छन् भने २९ प्रतिशत मात्रै नगदमा उपचार गराउने रहेको पौडेलले जानकारी दिए।
 
चालु आर्थिक वर्षमा रु ३९ करोड १० लाख ७४ हजार चार सय ७१ बीमाबाट आम्दानी हुँदा नगदबाट रु १७ करोड ९८ लाख मात्रै भएको छ। आउने अधिकांश बिरामी बीमाका रहेका छन्। एकै दिन ४४ जनासम्मले बीमामार्फत सिटीस्क्यान सेवा लिएको पौडेलको भनाइ छ। चितवन जिल्लासँगै तनहुँ, गोरखा, लम्जुङ, नवलपरासी, मकवानपुर, धादिङ लगायतका जिल्लाका विभिन्न पालिकाले प्रथम विन्दु भरतपुर अस्पताल बनाएका छन् भने यहाँ अध्ययन र रोजगारीका सिलसिलामा रहने धेरैको प्रथम विन्दु यही अस्पताल हुने गरेको छ।
 
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालको बीमा कार्यक्रम उत्कृष्ट रहेको भन्दै दाबी राम्रो भएकाले भुक्तानी सबै आएको बताए। दाबी प्रक्रिया नमिलेमा अस्पतालको आम्दानी घट्ने भन्दै उनले देशका अन्य अस्पतालको तुलनामा भरतपुर अस्पतालले राम्रो गर्न सकेको बताए। बिरामीको सहजताका लागि काउन्टर थप गर्ने तयारीमा अस्पताल रहेको उनको भनाइ छ। सकेसम्म बिरामीलाई सहजता दिलाउन आफूहरु लागिपरेको पौडेल बताउनुहुन्छ। बीमा बोर्डले समेत भरतपुर अस्पतालको बीमा दाबी पद्धतिलाई राम्रो मानेको भन्दै उनले क्रमशः अस्पतालको मुख्य स्रोत बीमा बन्दै गएको बताए।
 
अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले अस्पतालको बीमा कार्यक्रम देशमै उत्कृष्ट भएको बताए। अस्पतालमा झन्डै ७० प्रतिशत बिरामी बीमाको हुनु आफैँमा राम्रो भएको भन्दै उनले दाबी प्रक्रिया बोर्डको नियमानुसार भएकाले भुक्तानीमा समस्या नभएको बताए। उनले भने, 'हाम्रो बीमा दाबी र व्यवस्थापन देशमै उत्कृष्ट बनेको छ।' अस्पतालले पालिकाहरुसँग सहकार्य गरेर आम नागरिकलाई बीमामा ल्याउने गरी अभियान सञ्चालन गर्न लागेको उनको भनाइ छ। पालिकाहरुमा रहेका अति विपन्नलाई सरकारी तवरबाट बीमा गराउन सकेमा उपचार बीमामार्फत गरेर लाभ दिलाउन सकिने पौडेलको भनाइ छ।
 
अस्पतालमा सेवाहरु विस्तार गरी अन्यत्र रिफर गर्नुपर्ने सङ्ख्या घटाउने गरी योजना अघि सारिएको उनले जानकारी दिनुभयो। पौडेलले भने 'बीमामा आउने बिरामीका लागि कसरी सहज उपचार दिन सकिन्छ भनेर हामी केन्द्रित छौँ।' अस्पतालमा एमआरआई, क्याथल्याब जस्ता अत्याधुनिक सेवा उपलब्ध नहुँदा बिरामी धेरै रिफर हुने गरेका छन्। भरतपुर अस्पतालले ती दुवै सेवा छिट्टै सञ्चालन हुने गरी प्रक्रिया अघि बढाएको उनले जानकारी दिए।
 
स्वास्थ्य बीमामा पाँचजना परिवारले रु तीन हजार पाँच सय तिरेर एक वर्षभर रु एक लाखसम्मको सेवा लिँदै आएको छन्।  विपन्न परिवारका लागि यो रकम कम भएकाले दायरा बढाउनुपर्ने देखिएको छ। अस्पतालहरुले बीमाका बिरामीलाई अन्य बिरामीको तुलनामा फरक ढङ्गले सेवा दिने गरेको गुनासो बिरामीहरुबाट आउने गरेको छ। ती गुनासोहरुलाई सम्बोधन गर्नुपर्ने लाभग्राहीहरु बताउँछन्। सेवाग्राहीहरुले जुन ढङ्गले सहज उपचार पाउनुपर्ने हो, पाउन नसकेको गुनासो गर्दै आएका छन्। सेवा प्रदायक संस्थादेखि बीमा बोर्डसम्मले सुधार गरेर गुनासो नआउने गरी काम गर्नुपर्ने देखिएको छ।

प्रकाशित मिति: १३:५५ बजे, शुक्रबार, जेठ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्