सुदूरपश्चिम सरकारले आजै पूर्णता पाउने
प्रदेश सरकारको सय दिनका उपलब्धि सार्वजनिक कार्यक्रममा गठबन्धनमा आवद्ध सबै दललाई समेटेर आजै सरकारलाई पूर्णता दिइने बताए।
धनगढी, जेठ ५ : सत्तारुढ दलहरुबीच भागबण्डा मिलेपछि सुदूरपश्चिम प्रदेश सरकारले आजै पूर्णता पाउने भएको छ। भागवण्डा अनुसार माओवादीले २, नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने छन्।
यस्तै, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले आजै पूर्णता पाउने बताएका छन्। प्रदेश सरकारको सय दिनका उपलब्धि सार्वजनिक कार्यक्रममा गठबन्धनमा आवद्ध सबै दललाई समेटेर आजै सरकारलाई पूर्णता दिइने बताए।
उनले भने, ‘प्रदेश सरकार विस्तारको विषयमा साथीहरुको जिज्ञासा छ। आज पूर्णता पाउँछ । सत्ता गठबन्धनमा आवद्ध सबै दललाई समेट्छौं।’
मुख्यमन्त्री शाहले आफ्नो १०० दिनको कार्यकालमा सुशासन र विकासको नयाँ आशा र भरोसाको सञ्चार भएको समेत बताए।
सरकार प्रणाली सुधार गर्नमा केन्द्रित भएको र विकासको प्रत्याभूति दिलाउन क्रियाशील रहेको बताएका शाहले पहिलो चौमासिकमा १४ प्रतिशतमा न्यून रहेको बजेट खर्चको दर बढाएर ३३ प्रतिशत पुगाइएको उल्लेख गरे।











