नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही हुनुपर्छ : नेता ज्ञवाली
नक्कली भुटानी शरणार्थी प्रकरणले गणतन्त्रलाई नै गम्भीर असर पारेको बताउँदै उनले ठूला राजनीतिक दल एकै ठाउँमा उभिएर लोकतन्त्रको रक्षा गर्न आवश्यक रहेको औंल्याए।
कास्की, जेठ ४ : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।
पोखरामा आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन्। ‘शरणार्थी काण्डको छानबिन गर्न सजिलो होस् भनेर एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्वन गरेका छौं,’ उनले भने, ‘कांग्रेसले पनि पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई संरक्षण गरेर राख्नु हुँदैन, छानबिनका लागि प्रहरीलाई सजिलो बनाइदिनुपर्छ।’
नक्कली भुटानी शरणार्थी प्रकरणले गणतन्त्रलाई नै गम्भीर असर पारेको बताउँदै उनले ठूला राजनीतिक दल एकै ठाउँमा उभिएर लोकतन्त्रको रक्षा गर्न आवश्यक रहेको औंल्याए।
‘देशमा राजनीतिक सङ्कट उत्पन्न भएको अवस्थामा लोकतान्त्रिक पार्टी एक हुनुको विकल्प छैन’, उनले भने, ‘पछिल्लो समय देशको पूर्वी कोशी प्रदेशको नामकरणमा जातीय गन्ध आइरहेको छ।’
नक्कली भुटानी शरणार्थी, वाइडबडी, एनसेललगायत काण्डको छानबिन गरी दोषीमाथि कडा कारबाहीको मागसमेत उनले गरे। पछिल्लो समय देशको अर्थतन्त्र अत्यन्त कमजोर अवस्थामा पुगेको र देशको अर्थतन्त्र बिग्रनुमा भूकम्प, नाकाबन्दी, कोरोना र फान्स र युक्रेन युद्ध पनि रहेको उनको भनाइ छ।











