सगरमाथामा चिनियाँ आरोहीको प्याराग्लाइडिङ
ली सगरमाथाको आठ हजार मिटरबाट प्याराग्लाइडिङ गरेर आधार शिविर झरेर पुनः सगरमाथा आरोहणका लागि निस्किएका छन्।
काठमाडौं, जेठ ४ : चिनियाँ आरोहीले सर्वोच्च शिखर सगरमाथामा प्याराग्लाइडिङ गरेका छन्। चिनियाँ नागरिक ली सेनगतोले सगरमाथाको आठ हजार मिटरबाट आधार शिविरसम्म प्याराग्लाइडिङ गरेको नेपाल बिग माउन्टेन ट्राभल कम्पनीले जनाएको छ।
कम्पनीका प्रबन्ध निर्देशक सुदर्शन नेपालका अनुसार ली आठ हजार मिटरबाट करिब ४० मिनेटमा आधार शिविर पुगेका थिए। चिनियाँ आरोहीले सगरमाथाको आठ हजार मिटरबाट प्याराग्लाइडिङ गर्ने अनुमति लिएएको उनले बताए ।
ली सगरमाथाको आठ हजार मिटरबाट प्याराग्लाइडिङ गरेर आधार शिविर झरेर पुनः सगरमाथा आरोहणका लागि निस्किएका छन्।
‘चिनियाँ आरोही ली आरोहण गरेर सगरमाथाको आठ हजार मिटरमा पुगी प्याराग्लाइडिङ गरेर आधार शिविर झरेको र पुनः अहिले आरोहणका लागि सगरमाथाको चुचुरोतर्फ लागेका छन्,’ प्रबन्ध निर्देशक नेपालले भने।
प्रबन्ध निर्देशक नेपालले साहसिक कार्यमा रमाउने चिनियाँ पर्यटकलाई आकर्षण गर्न यसले प्रोत्साहन गर्ने बताए। कोरोना महामारीपछि चिनियाँ पर्यटक आगमन बढिरहेको सन्दर्भमा चिनियाँ पर्यटकलाई बढीभन्दा बढी आकर्षण गर्न सहयोग पुग्ने बताए।











