Kathmandu Press

शरणार्थी प्रकरणकाे अनुसन्धान प्रतिवेदन शुक्रबार बुझाउनुपर्ने दबाबमा प्रहरी 

आगामी मंगलबारसम्म अदालतमा अभियोगपत्र दर्ता गरिसक्नु पर्ने समयसीमाका कारण प्रहरी र सरकारी वकिल दबाबमा छन्।
शरणार्थी प्रकरणकाे अनुसन्धान प्रतिवेदन शुक्रबार बुझाउनुपर्ने दबाबमा प्रहरी 


काठमाडौं, जेठ ४ : नक्कली भुटानी शरणार्थी प्रकरणमा भोलि शुक्रबार प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ। 

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई प्रस्तावित रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने भएको हो। आगामी मंगलबारसम्म अदालतमा अभियोगपत्र दर्ता गरिसक्नु पर्ने समयसीमाका कारण प्रहरी र सरकारी वकिल दबाबमा छन्। 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा झण्डै एक अर्ब ठगी भएको रहस्य बाहिरिएपछि प्रहरी अपराध अनुसन्धानमा जुटेको थियो।

पीडितको जाहेरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले गत चैत १२ गते विचौलियालाई पक्राउ गरेको थियो। हालसम्म प्रमुख दलका नेतासहित १५ जना पक्राउ परिसकेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबारै हज कमिटीका अध्यक्ष शमशेर मिया पक्राउ परेका छन्। 

पक्राउ पुर्जी जारी भए पनि १६ जना अझै समातिएका छैनन्। पीडितले शरणार्थीका रुपमा अमेरिका जान २० देखि ५० लाख रुपैयाँसम्म बुझाएको प्रहरीसँगको बयानमा बताएका छन्।

भुटानी शरणार्थी समस्या समाधान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलले तयार गरेको प्रतिवेदनमा बुँदा थपेर नक्कली शरणार्थी खडा गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि अब काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अध्ययन गरी अभियोगपत्र तयार गर्नेछ। 

उक्त प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, तत्कालिन गृह सचिव सचिव टेकनारायण पाण्डेलगायत पक्राउ परिसकेका छन्।

सरकारी वकीलले शरणार्थी प्रकरणमा सबुद प्रमाणसहित आरोपित छुट्याएर तीन दिनभित्र अभियोगपत्र तयार गर्नुपर्ने छ। 

प्रकाशित मिति: १६:४७ बजे, बिहीबार, जेठ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्