सात वर्षपछि निर्दोष साबित हुँदै छुटे चौधरी
चौधरीविरुद्ध दर्ता भएको ज्यान मुद्दामा जिल्ला अदालत र उच्च अदालत दीपायलले जन्मकैदको सजाय सुनाएको थियो।
काठमाडौं, जेठ ४ : टीकापुर हिंसामा जन्म कैंद सुनाइएका सन्तकुमार चौधरी सात वर्षपछि निर्दोष साबित भएका छन्। टीकापुर हत्या प्रकरणमा संलग्न भएको आरोपमा उनलाई २०७३ साल वैशाखमा पक्राउ गरिएको थियो। त्यसयता उनले जेल जीवन बिताउँदै आएका थिए ।
चौधरीविरुद्ध दर्ता भएको ज्यान मुद्दामा जिल्ला अदालत र उच्च अदालत दीपायलले जन्मकैदको सजाय सुनाएको थियो। मंगलवार भएको सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासबाट भएको फैसलाले उनलाई निर्दोष ठहर गरेको छ।
सर्वोच्चको थुनामुक्त गर्ने आदेशसँगै उनी बुधबार कैलाली कारागारबाट छुटेका छन्। उनी टीकापुर हिंसामा संलग्नताको आरोपमा पक्राउ परेका मध्ये एक आरोपी थिए।
प्रहरीको गलत अनुसन्धान र सरकारी वकीलको त्रुटीपूर्ण अभियोजनका कारण चौधरीविरुद्ध अभियोगपत्र पेश भएको आधारमा सर्वोच्चले सफाई दिएको हो। सर्वोच्चबाट फैसलाको पूर्ण पाठ भने आउन बाँकी छ। थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनका क्रममा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो।
उक्त हिंसा प्रकरणमा २०७५ फागुन १२ गते हाल नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशम चौधरीसहित ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो।
२०७७ पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनायो। उक्त फैसलामा बमोजिम रेशमसहित दोषीहरु सात जना अहिले जेलमा छन्। सर्वोच्चको अन्तिम फैसला वमोजिम रेशमसहित ६ जनालाई अपराध ठहर हुँदा सन्तकुमार भने सफाई पाएर छुटेका छन्।











