‘गौर, दरबार, दासढुंगालगायत विगतका भयानक हत्याकाण्डबारे पुनः छानबिन आवश्यक छ’
सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफ दिँदै उनले विगतका हत्याकाण्डहरूलाई नयाँ शिराबाट छानबिन थाल्नुपर्ने आवश्यकता औंल्याएका हुन्। उनले मदन भण्डारी र जीवराज आश्रितको मृत्युको घटनाको पनि अनुसन्धान गर्नुपर्ने बताए।
काठमाडौं, जेठ ४ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौर हत्याकाण्ड, दरबार हत्याकाण्डसहित विगतका भयानक हत्याकाण्डकहरूको पुनः छानबिन हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
प्रतिनिधिसभामा बिहीबार भएको प्रश्नोत्तर कार्यक्रममा आम जनता पार्टी (आजपा) का सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफ दिँदै उनले विगतका हत्याकाण्डहरूलाई नयाँ शिराबाट छानबिन थाल्नुपर्ने आवश्यकता औंल्याएका हुन्। उनले मदन भण्डारी र जीवराज आश्रितको मृत्युको घटनाको पनि अनुसन्धान गर्नुपर्ने बताए।
साहले ‘रौतहटको गौरमा २०६३ सालमा भएको हत्याकाण्डको छानबिन के भइरहेको छ र अपराधीहरु कानुनको दायरामा आउँछन् कि आउँदैनन्?’ भनी प्रश्न गरेका थिए। साेही प्रश्नकाे जवाफ दिने क्रममा उनले विगतका सबै बीभत्स र भयानक हत्याकाण्डहरुको नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका हुन्।
'चाहे त्यो गौरको केस होस् चाहे त्यो भयानक दरबार हत्या काण्ड नेपालको इतिहासकै सबैभन्दा विभत्स हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्छ,’ प्रचण्डले यस्ता घटना बिर्साउन खोजिएको भन्दै अगाडि भने, ‘मदन आश्रितको पनि नयाँ शिराबाट छानबिन हुनुपर्छ।’ यस्ता घटनाको पुनः छानबिनका लागि राजनीतिक स्तरमा सहमति हुनुपर्ने उनको भनाइ छ।
तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी २०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र गोली चलेको थियो । उक्त हत्याकाण्डको छानबिनका लागि गठित समितिले तत्कालिन युवराज दिपेन्द्रले गोली चलाएको ठहर गरेको थियो ।
साहले अहिलेसम्म नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिनेको संख्या, नेपाल त्याग्नुको कारण, नेपाल छोडेपछि उनीहरुको सम्पत्तिको अवस्था, उनीहरूले विदेशमा लगेको सम्पत्ति, त्यस्तो अवस्था रोक्न सरकारले चालेको चालेको कदम, विदेशमा नेपालीले लुकाएर राखेको कालो धन, त्यसको छानबिन र फिर्ता ल्याउन सरकारले गरिरहेको पहल, नेपालीले नेपालमा भविष्य देख्न छाड्नुको कारणबारे प्रश्न सोधेका थिए।
प्रधानमन्त्री दाहालले नेपाली नागरिकता त्यागी विदेशमा बसोबास गरिरहेको नागरिकको गृह मन्त्रालयबाट तथ्यांक संकलनको कार्य भइरहेको जवाफदिएका थिए। नेपाली नागरिकले नेपालमा रहेको सम्पत्ति बेचबिखन गरेर विदेशमा लैजान नपाउने कानुनी व्यवस्था रहेको पनि उनले जवाफमा बताए। ‘विद्यार्थी र पर्यटक भिसामा विदेश जानेहरुले लगेको विदेशी मुद्राको तथ्यांक नेपाल राष्ट्र बैंकले समयसमयमा प्रकाशन गर्ने गरेको छ,’ उनले भने।











