नागरिकता विधेयक एक महिनाभित्र टुंगो लाग्छ : प्रधानमन्त्री
उनले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउने वा राष्ट्रपति कार्यालयमा नै रहेको विधेयक प्रमाणीकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको र जसरी पनि एक महिनाभित्र नागरिकताको विधेयक टुंगो लगाउने प्रतिबद्धता उनले व्यक्त गरेका हुन्।
काठमाडौं, जेठ ४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक एक महिनाभित्र टुंगो लाग्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा उनले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउने वा राष्ट्रपति कार्यालयमा नै रहेको विधेयक प्रमाणीकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको र जसरी पनि एक महिनाभित्र नागरिकताको विधेयक टुंगो लगाउने प्रतिबद्धता उनले व्यक्त गरेका हुन्। जसपा सांसद दीपक कार्कीले उनलाई नागरिकता विधेयकबारे प्रश्न सोधेका थिए।
गत वर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्।
प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट समेत नागरिकता विधेयकको विषयमा के गर्ने भन्ने विषयमा अध्ययन भइरहेको बताए। ‘मैले राष्ट्रपतिलाई जानकारी गराएँ। राष्ट्रपतिले पनि यो बारेमा कानुनविद् र संविधानविद्सँग छलफल गर्छु भन्नुभएको छ, सायद उहाँ अध्ययनका क्रममा हुुनुहुन्छ।’
सरकारले उक्त विधेयकका विषयमा पूर्वमहान्यायाधिवक्ता, वर्तमान महान्यायाधिवक्ता र संविधान तथा कानुनका विज्ञसँग छलफल गर्दा सबैजसोको मत राष्ट्रपति कार्यालयमा रहेकै विधेयक प्रमाणीकरण गर्न सुझाव आएको उनले बताए।त्यही विधेयक प्रमाणीकरण गर्न संसदले संकल्प प्रस्तावमार्फत अनुरोध गर्ने वा मन्त्रिपरिषदबाट निर्णय गरेर प्रमाणीकरण गर्न अनुरोध गर्ने सम्भावना रहेको जानकारी पनि उनले गराए।
उनले राष्ट्रपति कार्यालयमा होल्ड भएको विधेयक शून्यमा गएको र त्यसलाई जीवित मान्न सकिँदैन भन्ने मत पनि रहेको बताए।











