सांसद शिशिर खनालकाे प्रश्नमा प्रधानमन्त्रीमा भने- लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने पक्षमा छु तर त्याे विषय सर्वोच्च अदालतसँग सम्बन्धित छ
‘म दोस्रोपटक प्रधानमन्त्री हुँदा थरुहट र मधेस आन्दोलनसँग सम्बन्धित विषयहरूमा छानबिन गर्न लाल आयोग गठन भएको कुरा साँचो हो। त्यो आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्नेमा पर्छु म पनि।’
काठमाडौं, जेठ ४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनाको छानबिन गर्न सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल संयोजकत्वको प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा आफू रहेको पनि त्यो विषय सर्वोच्च अदालतसँग सम्बन्धित रहेको बताएका छन्।
प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उनले त्यस्तो बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले ‘सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छ कि गर्दैन?’ भनी प्रश्न गरेका थिए।
‘म दोस्रोपटक प्रधानमन्त्री हुँदा थरुहट र मधेस आन्दोलनसँग सम्बन्धित विषयहरूमा छानबिन गर्न लाल आयोग गठन भएको कुरा साँचो हो। त्यो आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्नेमा पर्छु म पनि,’ उनले भने, ‘त्यसलाई कुन रुपमा कसरी सार्वजनिक गर्ने भन्ने विषयमा छलफल हुँदै गर्दा सूचना आयोगले सर्वोच्च अदालतमा त्यो विषयमा मुद्दा दिएपछि सर्वोच्च अदालतले हाल त्यो प्रतवेदन प्रकाशित नगर्नू भन्ने फैसला गरेको जानकारी गराउँछु। हामी अहिले पनि सर्वोच्च अदालतको फैसलालाई कुनै किसिमले पुनरावेदन गरेर खुला गरेपछि लाल आयोगको प्रतिवेदन सर्वजनिक गर्नुपर्छ भन्ने मेरो मान्यता छ।’
प्रधानमन्त्री दाहालले केही प्रतिवेदन संवेदनशील रहेको अवस्थामा भने सार्वजनिक नगर्ने अन्तर्राष्ट्रियस्तर प्रचलन रहेको बताए।
‘सरकारले समयसमयमा देखापरेका समस्याका विषयमा आयोग गठन गरी प्रतिवेदन प्राप्त गर्ने गरेको यहाँहरूलाई जानकारी नै छ। तराई मधेस र थरुहट आन्दोलनका विषयमा पनि आयोग गठन गरी प्रतिवेदन प्राप्त गरेको थियो। यी र यस्ता प्रतिवेदन शान्तिसुरक्षाका दृष्टिकोणले कहिलेकाहीँ प्रकाशित हुन असजिलो हुन सक्छ।’











