‘लडाकु शिविरमा कुनै अनियमितता भएकाे छैन, दोषी ठहरिए जेल जान तयार छु’
‘२०४८ सालदेखिको सबै भ्रष्टाचारका मुद्दामा छानबिन गर्न तयार छु। राजनीतिक तहमा संकल्प गरेर जाँदा छानबिन गर्न सकिन्छ।‘
काठमाडौं, जेठ ४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन माओवादी लडाकु शिविरमा कुनै अनियमिमिता नभएको दाबी गरेका छन्। त्यसमा फेरि पनि छानबिन गर्न आफू तयार रहेकाे र दोषी ठहरिए जेल आफू जान तयार रहेको बताए।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको उत्तर दिँदै उनले तत्कालीन माओवादी शिविरमा कुनै अनियमिमिताबारे छानबिन गर्दा दोषी ठहरिए जेल आफू जान तयार रहेको बताएका हुन्। उनले भने, ‘क्यान्टोनमेन्टको कुरा कपोल्कल्पित छ। फेरि पनि छानबिन गरेर दोषी ठहरिए म जेल जान तयार छु।’
उनले लडाकु शिविरमा भएको भ्रष्टाचार भएको आरोप लगाएर राजनीतिक पूर्वाग्रह राखी बारम्बार प्रश्न उठाउने गरिएको भन्दै गुनासो पनि गरे। उनले २०४८ सालपछिका ठुलाठुला भ्रष्टाचारबारे छानबिन गर्न आफू तयार रहेको पनि बताए।
उनले लडाकुलाई दिएको पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र भएको बताए । ‘पूर्व माओवादी लडाकुलाई वितरण गरिएकै पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र हो। क्यान्टोनमेन्टको भौतिक पूर्वाधारको जिम्मा कसले लिए त्यसको रेकर्ड छ। त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डा. रामशरण महतले रुजु गरेपछि यो विषय पटाक्षेप भएको हो,’ प्रधानमन्त्री दाहालले भने।
प्रधानमन्त्री दाहालले यो विषय पटकपटक राजनीतिक आग्रहको आधारमा उठाइने र अहिले पनि त्यही पूर्वाग्रहका हिसाबले उठाइएको बताए। उनले भने, ‘त्यस्तो केही छ भने २०४८ सालदेखिको सबै भ्रष्टाचारका मुद्दामा छानबिन गर्न तयार छु। राजनीतिक तहमा संकल्प गरेर जाँदा छानबिन गर्न सकिन्छ।’











