रोजगारमूलक शिक्षा सञ्चालन र गुणस्तर सुधार सरकारको प्राथमिकता : प्रधानमन्त्री
आज (बिहीबार) को प्रतिनिधिसभा बैठकको सुरुमा उनले नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सोधेको प्रश्नको उत्तर दिए।
काठमाडौं, जेठ ४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोस्ट्रममा उभिए/ सांसदहरूले प्रश्नको जवाफ दिइरहेका छन्।
आज (बिहीबार) को प्रतिनिधिसभा बैठकको सुरुमा उनले नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सोधेको प्रश्नको उत्तर दिए।
त्यसक्रममा उनले वर्तमान सरकार सार्वजनिक शिक्षालाई सुधार गर्दै सीपमूलक र रोजगारमूलक शिक्षामा केन्द्रित भएको बताए।
‘सबै सरकारी विद्यालयमा गुणस्तरीय र रोजगारमूलक शिक्षा सञ्चालन गरी स्वदेशमै रोजगारी र गुणस्तर सुधार सरकारको प्राथमिकता हो,’ उनले भने, ‘शिक्षकको क्षमता वृद्धि गर्दै, स्थानीय र प्रदेश सरकारसँग समन्वयमा गुणस्तर अनुगमन र सुधारको काम भइरहेको छ।’
उनले रेमिट्यान्स भित्रिएको र विद्यार्थी पढ्न विदेश जाँदा बाहिरिएको रकमबारे पनि जानकारी दिए। 'आर्थिक वर्ष २०७९/८० को पहिलो ९ महिनामा रु.९०३ अर्ब ३९ करोड रेमिट्यान्स प्राप्त भएको छ। जुन गत आर्थिक वर्षको तुलनामा २४.२ प्रतिशत वृद्धि हो । यहि अवधिमा नेपाली विद्यार्थी विदशेमा पढ्न जाँदा रु. ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको देखिएको छ,' भने।
नेपालमा नै रासायनिक मल कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन भइरहेको पनि प्रधानमन्त्री दाहालले बताए।
'नेपालमा रासायनिक मल उत्पादन गर्ने सम्बन्धमा नेपाल लगानी बोर्डमा प्राप्त भएका विभिन्न प्रस्तावहरूको सम्भाव्यता अध्ययन कार्य भइरहेको जानकारी गराउन चाहन्छु,' उनले भने, 'मल कारखाना उत्पादन गर्ने कार्यलाई उच्च प्राथमिकता दिई अगाडि बढाउने जानकारी गराउन चाहन्छु।'











