Kathmandu Press

बागमती प्रदेशमा लामालाई चार मन्त्रालयको जिम्मेवारी

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी प्रदान गरेका हुन्।
बागमती प्रदेशमा लामालाई चार मन्त्रालयको जिम्मेवारी

हेटौंडा, जेठ ३ : बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामालाई थप तीन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी प्रदान गरेका हुन्।

प्रदेश प्रमुख शर्माले सूचना जारी गर्दै मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा लामालाई थप मन्त्रालयको जिम्मेवारी दिइएको उल्लेख गरेका छन्।

बुधबार मन्त्री लामाले स्वास्थ्य मन्त्रालयमा स्वागतको क्रममा सम्पूर्ण कर्मचारीलाई एकबद्ध भई सेवा भावले काम गर्न र चुस्त दुरुस्त सेवा प्रदान गर्न निर्देशन दिए।

निर्देशनकै क्रममा मन्त्री लामाले अहिलेको अवस्थामा राजस्व आशातितरुपमा उठ्न नसकेको कारण स्रोतको कमी भएको र समग्र विश्व नै आर्थिक सङ्कटमा परेको बताए।

बागमती प्रदेशको ११ मन्त्रालयमध्ये छ वटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त रहेका छन्। पाँच वटा मन्त्रालय मन्त्रीविहीन थिए। सत्तारुढ दलको बीचमा भागबण्डा नमिल्दा सरकारलाई पूर्णता दिन नसकेपछि मुख्यमन्त्री जम्कट्टेलले नेपाली कांग्रेसका नेता लामालाई नै थप तीन मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

बागमती प्रदेशमा पाँच वटा मन्त्रालय कांग्रेसले सम्हालेको छ भने माओवादी केन्द्रले चार मन्त्रालय सम्हाल्दै आएको छ। प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालयमा अझै मन्त्री नियुक्त हुन सकेका छैनन्।

यी मन्त्रालय भने मुख्यमन्त्री जम्कट्टेलले नै सम्हाल्दै आएका छन्।

प्रकाशित मिति: २०:०० बजे, बुधबार, जेठ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्