लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नाउपाद्वारा आन्दोलनका कार्यक्रम घोषणा
नाउपाका संरक्षकसमेत रहेका रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको भोलिपल्ट बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपाल बन्दसम्मको आन्दोलन घोषणा गर्ने चेतावनी दिइएको हो।
काठमाडौं, जेठ ३ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
नाउपाका संरक्षकसमेत रहेका रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको भोलिपल्ट बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपाल बन्दसम्मको आन्दोलन घोषणा गर्ने चेतावनी दिइएको हो।
वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्तिमार्फत भनेका छन्, ‘लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन, हामी आन्दोलन गर्न विवश हुनेछौं। जेठ ३, ४ र ५ गते देशव्यापी राँके जुलुस प्रदर्शनी, कोणसभा र ६ गतेदेखि १० गतेसम्म नेपालबन्द गर्ने जानकारी गराइन्छ।’
२०७२ सालमा संविधान जारी गर्दा त्यसको विरोधमा मधेस तथा थरुहटमा भएको आन्दोलनका क्रममा सरकारी पक्षको दमनबारे अध्ययन गर्न लालको नेतृत्वमा गठित आयोगले तयार पारेको प्रतिवेदन सरकारले हालसम्म सार्वजनिक गरिएको छैन।
नाउपाले टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक हिसाबले नै हल गर्नुपर्ने भन्दै आएको छ। ‘हिजोको सम्मानित अदालतको फैसला न्यायमूर्तिहरुको निर्णय स्वीकार्य छ तर यो राजनीतिक मुद्दा हो, अदालती होइन,’ विज्ञप्तिमा भनिएको छ, आजका सबै राजनीतिक दलका शीर्ष नेतृत्वले आफ्नो विगत फर्केर हेर्न अनुरोध गर्दै टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक हिसाबले नै हल गर्न अनुरोध गर्दछौं।’