प्रहरीले शरणार्थी प्रकरणबारेको अनुसन्धान प्रतिवेदन आज नबुझाउने
रकारी वकिलले अध्ययनका लागि भन्दै एक साताअघि आज (बुधबार) सम्म प्रतिवेदन बुझाउन भनेको थियो।
काठमाडौं, जेठ ३ : प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणबारेको अनुसन्धान प्रतिवेदन आज (बुधबार) नबुझाउने भएको छ।
अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले आजसम्मको समय दिए पनि अनुसन्धानका क्रममा गर्नुपर्ने केही काम बाँकी रहेकाले प्रतिवेदन नबुझाउने निर्णय गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। सरकारी वकिलले अध्ययनका लागि भन्दै एक साताअघि आज (बुधबार) सम्म प्रतिवेदन बुझाउन भनेको थियो।
उनले छिट्टै प्रतिवेदन बुझाउने प्रयास हुने पनि बताए। फेरि म्याद थप गरेर अनुसन्धानको बाँकी काम पूरा गर्ने तयारीमा काठमाडौं प्रहरी रहेको छ।
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई अहिले ठगी र संगठित अपराधसम्बन्धी कसुरमा म्याद थप गरेको छ। ६० दिनभित्र प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पेस गर्नुपर्छ।











