देश चिन्ताजनक परिस्थितिमा हुँदा पनि गठबन्धन सत्तामा मात्रै सीमित भयाे : ओली
‘अहिलेको राजनीतिलाई जसरी अत्यन्तै हल्काफुल्का ढंगले लिइएको छ, खासगरी सत्ताधारी गठबन्धनले, त्यो दुःखद कुरा हो। देशको परिस्थिति अत्यन्त गम्भीर छ । अत्यन्त जटिल छ।’
काठमाडौं, जेठ ३ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश चिन्ताजनक परिस्थितिमा रहेको बताएका छन्।
मदन–आश्रितको ३१ औं स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको यो गठबन्धन सत्तामा मात्रै सीमित रहेकाले देशको अवस्था बिग्रँदै गएको बताए ।
सत्ता गठबन्धनले राजनीतिलाई हलुका रुपमा लिइरहेको बताउँदै उनले भने, ‘अहिलेको राजनीतिलाई जसरी अत्यन्तै हल्काफुल्का ढंगले लिइएको छ, खासगरी सत्ताधारी गठबन्धनले, त्यो दुःखद कुरा हो। देशको परिस्थिति अत्यन्त गम्भीर छ । अत्यन्त जटिल छ।’
अध्यक्ष ओलीले कांग्रेस हावा न चावाको पार्टी भएको बताएका छन्। उनले कांग्रेसलाई कुनै राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने उल्लेख गरे।देश यस्तो गम्भीर परिस्थितिमा रहँदा पनि एउटा लामो इतिहास बोकेको नेपाली कांग्रेस किं कर्तव्यविमूढ भएको अरोप लगाए।
‘भोलि कहाँ जाने केही थाहा छैन भन्नेजस्तै छ, आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन । यसको अर्थ हाम्रो पार्टी एक्लैले यो अभिभारा वस्तुतः पूरा गर्नुपर्ने परिस्थिति बनेको छ, यो सहज छैन,’ ओलीले भने।
अध्यक्ष ओलीले राजनीति भयावह अवस्थाबाट गुज्रिरहेको बताउँदै अहिलेको सत्ता गठबन्धन टिक्छ कि टिक्दैन भन्नेमा मात्रै सीमित रहेको दाबी गरे ।











