Kathmandu Press

रेशम चौधरीकाे जन्मकैदको सजाय सर्वोच्चबाट सदर

सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले उनलाई जन्मकैदको सजाय हुने यसअघिकाे फैसलालाई नै सदर गरेको हो।
रेशम चौधरीकाे जन्मकैदको सजाय सर्वोच्चबाट सदर

काठमाडौं, जेठ २ : टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर भएको छ। सर्वोच्च अदालतले आज (मंगलबार) त्यस्तो फैसला गरेको हो।

सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले उनलाई जन्मकैदको सजाय हुने यसअघिकाे फैसलालाई नै सदर गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिए। 

उक्त मुद्दा आज नियमित सुनुवाइका लागि पेसी तोकिएको थियो। इजलासले मुद्दाको सुनुवाइ नसकिएपछि मंगलबारसमेत त्यसलाई निरन्तरता दिइएको हो।

चौधरी हाल डिल्लीबजार कारागारमा जन्मकैदको सजाय काटिरहेका छन्। हाल नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका उनले उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्चमा पुनरावेदन गरेका थिए।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको थारू समुदायको आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो। सो हिंसात्मक घटनाका मुख्य आरोपित रेशम चौधरी ठहरिएका थिए। उनलाई जिल्ला अदालत कैलालीले पनि जन्मकैदकै सजाय सुनाएको थियो।

यही मुद्दामा जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला गरेका लक्ष्मण चौधरीलाई पनि उच्च अदालत दिपायलले जन्मकैदको सजाय तोकेको थियो। सर्वोच्चले उनलाई भने जन्मकैद नहुने र जिल्ला अदालतकै फैसला सदर हुने ठहर गरेको छ।

सर्वोच्चले यही घटनामा सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ। उच्च अदालत दिपायलले उनीहरुलाई जन्मकैद र ज्यान मार्ने उद्योगको आरोपमा ५–५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो।

प्रकाशित मिति: १७:४७ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्