सरकारलाई समर्थन गर्ने दलको बैठक सम्पन्न
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठक सरकारले यही जेठ ५ गते सदनमा पेस गर्ने नीति तथा कार्यक्रममाथि केन्द्रित रहेको बैठकमा सहभागी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
काठमाडाैं, जेठ २ : सरकारलाई समर्थन गर्ने दलहरुको बैठक सम्पन्न भएको छ। बैठकले मुलुकको आर्थिक अवस्था सुधार हुनेगरि नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएकाे छ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठक सरकारले यही जेठ ५ गते सदनमा पेस गर्ने नीति तथा कार्यक्रममाथि केन्द्रित रहेको बैठकमा सहभागी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
'आजको छलफलको विषयवस्तु नीति तथा कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने हो। नीति तथा कार्यक्रमका कुन विषयलाई प्राथमिकता दिने भन्ने बारेमा दलहरुका बीचमा छलफल भयो', उनले भने।
बैठकमा शीर्ष नेताहरुले जनअपेक्षा पूरा गर्ने विषयलाई प्राथमिकता दिन सुझाव दिएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा पेस गर्न लागिएको नीति कार्यक्रममाथि सुझाव लिन सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बोलाएका हुन्।
बैठकका सहभागीहरुले कृषि, पर्यटनलाई जोड दिएर रोजगारी सिर्जना गर्ने र आर्थिक अवस्था पनि सुधार हुने गरि नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको पाण्डेले जानकारी दिए।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत उपस्थित थिए।
सरकारले यही जेठ ५ गते सदनमा पेस गर्ने नीति तथा कार्यक्रम तयारी गरेको छ।











