टीकापुर हिंसा प्रकरण : ‘बेन्च’बाट न्यायाधीशले सोधे– मोबाइल लोकेसनको कुरा के हो?
प्रत्युत्तरमा श्रेष्ठले भने, ‘मोबाइल अरू कसैलाई पठाएर पनि आफू घटनास्थलमा बस्न सकिन्छ नि, श्रीमान्।'
काठमाडौं, जेठ २ : टीकापुरमा हिंसा भड्काएको अभियोगमा कर्तव्य ज्यान मुद्दा चलाइएका रेशमलाल चौधरी लगायतको मुद्दामा मंगलबार सर्वोच्च अदालतमा दुईतर्फी बहस हुँदै थियो।
न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइको पेसी तय भएको थियो।
सरकारी वकिलतर्फको बहस चलिरहेकै बेला सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले मुद्दाका सहअभियुक्त करण चौधरी, प्रदीप चौधरी लगायतको बयानबाट रेशम चौधरीले घटना गराएको पुष्टि भएको जिकिर गरे। श्रेष्ठ चौधरीकाे प्रत्यक्ष संलग्नता देखिएको दलिल पेस गर्दै थिए।
सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ र सूर्यराज दाहालले रेशमलाल चौधरी, लक्ष्मण थारु लगायतको कसुर ठहर गर्ने उच्च अदालत दिपायलको फैसला सही भएको भन्दै सदर हुनुपर्ने जिकिर गरिरहेका थिए। सहन्यायाधिवक्ता श्रेष्ठको जिकिरलाई लिएर ‘बेन्च’बाट न्यायाधीश डा. आनन्दमोहन भट्टराईले सोधे, ‘मोबाइल लोकेसनको कुरा के हो?’ प्रत्युत्तरमा श्रेष्ठले भने, ‘मोबाइल अरू कसैलाई पठाएर पनि आफू घटनास्थलमा बस्न सकिन्छ नि, श्रीमान्।'
आन्दोलनमा सहभागी हुन आह्वान गर्ने, आन्दोलनमा नगए जनही एक हजार रुपैयाँ जरिवाना गर्ने उर्दी जारी गर्नेलगायतका कारणबाट घटनामा चौधरीको संलग्नता भएको पुष्टि भएको दाबी श्रेष्ठको थियो। यो मुद्दालाई यसअघि गत वैशाख २५ गते ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। त्यसदिन प्रतिवादीका वकीलबाट बहस भएको थियो।
चौधरी हाल नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक छन्। चौधरीविरुद्ध टिकापुर हिंसामा संलग्न भएको दाबीसहित कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी गरी तीनवटा अभियोगमा मुद्दा छ।
कैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको हिंसामा साढे दुई वर्षको बालक, प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित नौजनाको हत्या भएको थियो।
हिंसामा आठजना प्रहरीमाथि क्रुर हत्या भएको थियो। उक्त हत्या प्रकरणमा तल्लो अदालतबाट चौधरीसहित अन्य ११ जना अदालतबाट दोषी ठहर भइसकेका छन्।











