Kathmandu Press

‘श्रीमानलाई उपहार दिने सपना अधुरै’ 

'श्रीमानलाई जानकारी नदिई निर्माण गरें। तर भन्नसमेत पाइनँ। यद्यपि उहाँको यादमा तयार गरेको चलचित्र अहिले प्रदर्शनको तयारीमा छ'
‘श्रीमानलाई उपहार दिने सपना अधुरै’ 

काठमाडाैं, जेठ २ : चलचित्रमा कथा लेखिन्छ र त्यसलाई पटकथामा रूपान्तरण गरेपछि छायाङ्कन सुरु हुन्छ। लेखकले पात्र र त्यसको पहिचान, आवरण र समाज निर्माण गरेपछि आरोहअवरोहलाई चलचित्रको शैलीमा तयार पारेर पर्दामा प्रस्तुत गरिन्छ। तर पर्दा बाहिर घट्ने केही घटनाक्रम चलचित्रभन्दा कम लाग्दैनन्।

जेठको पहिलो साता प्रदर्शनमा आउने चलचित्र ‘ए साथी सुन’की निर्मात्री बिना कार्कीको जीवनी चलचित्रको कथाझैँ छ। फरक क्षेत्रमा रहेर कर्म गरिरहेकी उनले यो चलचित्र आफ्नो श्रीमानलाई ‘उपहार’ दिन निर्माण गरिन्। चलचित्रबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा चलचित्रभन्दा कार्कीको कथाले उपस्थितलाई मर्माहत बनायो। तर जानकारी नदिई उपहार दिने उनको सपना अधुरै रह्यो। 

Hardik ivf

कोरोना भाइरसका कारण निर्मात्री कार्कीले श्रीमानलाई गुमाउनुपर्‍यो। 'श्रीमानलाई जानकारी नदिई निर्माण गरें। तर भन्नसमेत पाइनँ। यद्यपि उहाँको यादमा तयार गरेको चलचित्र अहिले प्रदर्शनको तयारीमा छ', उनले भनिन्। श्रीमान् श्रव्यदृश्यप्रति आकर्षित र आफ्नो सन्तानलाई कलाकारका रूपमा देख्ने चाहना राखेको जानकारी पाएकी कार्कीले चलचित्रमा छोरा इभानलाई अभिनयको अवसर दिएका छन्। 

'चलचित्र हामीले निर्माण गरेका हौँ भन्ने थाहा थिएन। तर छोरालाई अभिनय गराएको भन्ने जानकारी दिएकी थिए। उहाँ निकै खुसी हुनुभयो', निर्मात्री कार्कीले भनिन्। व्यवसायका कारण संयुक्त अरब इमिरेटस्को दुबईमा बसोबास गरिरहेकै कारण नेपालमा कोरोना महामारीका बेला  उनीहरू अलग भए। निर्मात्री कार्की छोरा लिन नेपाल आएको समयमा लकडाउनका कारण यही बस्नुपर्‍यो। 'अन्तिम समयमा उहाँलाई देख्नसमेत पाइनँ। अहिले मैले किन भनिनँ भन्ने पनि लाग्छ', उनले भनिन्। 

चलचित्रमा सम्पूर्ण समूह नै नयाँ छन्। नयाँलाई चलचित्र बनाउन झैँ प्रदर्शन गर्न पनि सहज नरहेको निर्देशक रामराघव आचार्यले बताए। 'चलचित्र बनिसकेपछि प्रदर्शन गर्न सहज छैन। नयाँ समूहलाई जसरी कलाकारले बुझ्दैनन्, प्रदर्शनमा पनि त्यस्तै हुन्छ', उनले भने। नेपालमा केही साङ्गीतिक भिडिओ र छोटा चलचित्रमा काम गरेपछि उनले भारतमा अभिनय र निर्देशनको शिक्षासमेत लिए। 

त्यहाँ केही टेलिचलचित्रमा काम गरेपछि कोरोना भाइरसका कारण भएको पहिलो लकडाउनमा कार्की नेपाल आएकी थिइन्। 'नेपाल आएपछि बसाइका क्रममा लेखेको कथालाई सुनाएपछि चलचित्र निर्माण गर्ने निर्णय लिएका हौँ। यसको नाम कलिपुरुष राखेका थियौँ। किनकि मानवद्वारा भइरहेको गलत क्रियाकलापको कथा प्रस्तुत गरेका छौँ', निर्देशक आचार्यले भने। 

प्रेम कथानक थ्रिलर विधामा निर्माण भएको चलचित्रमा सुशील पोखरेल, जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आर्यन खड्का, विमला गिरी, रमेश अधिकारीलगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित मिति: १५:२८ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्