Kathmandu Press

लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध : उद्योगमन्त्री रिजाल

उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य थप प्रभावकारी रुपमा हुन आवश्यक रहेकोमा जोड दिए।
लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध : उद्योगमन्त्री रिजाल

काठमाडाैं, जेठ २ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले लगानीमैत्री वातावरण बनाउनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

मंगलबार काठमाडौमा उद्योग परिसंघले आयोजना गरेको ‘स्वदेशी समिट २०२३’ को उद्घाटन गर्दै मन्त्री रिजालले लगानीमैत्री औद्योगिक वातावरण निर्माण, आत्मनिर्भर अर्थतन्त्रका लागि औद्याेगिक पूर्वाधार र समृद्धिका लागि प्राकृतिक स्रोत सदुपयोगका लागि आवश्यक वातावरण बनाउनका लागि सरका प्रतिवद्धता रहेको बताएका हुन्।

उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य थप प्रभावकारी रुपमा हुन आवश्यक रहेकोमा जोड दिए। आधौगिक क्षेत्रको उचित विकास बिना दिगो आर्थिक वृद्धि तथा समृद्धि सम्भव नभएको उनको भनाइ छ। मन्त्री रिजालले स्वदेशी बस्तुको उत्पादन, प्रवर्धन एवं निर्यात बढाउन गरिनुपर्ने नीतिगत तथा व्यावहारिक पक्षमा आउने सुझावहरुलाई सरकारले गम्भीरतापूर्वक लिने धारणा राखे।

सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले असहज अर्थतन्त्रलाई मध्यनजर गर्दै सरकारले उचित बजेट ल्याउनुपर्ने बताए। उनले लगानी गर्ने वातावरण ठप्प हुनु अर्थतन्त्रका लागि चुनौती भएको जिकिर गरे। वाग्लेले चालू आर्थिक वर्षको बजेटमा समावेश भइ कार्यान्वयन हुन नसकेका विषयलाई अहिलेको बजेटमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए।

त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले भारतमा उद्योगीहरुलाई निकै सहज रुप रहेको भन्दै नेपालमा पनि औधोगिक वातावरण बनाउनुपर्ने बताए। घोषणा गरेर पनि बिकास हुन नसकेका औधोगिक क्षेत्रलाई नीजि क्षेत्रसंग सहकार्य गरेर बिकास गर्न सकिने उनले बताए। उनले सरकारले स्वदेशी बस्तु प्रयोग गर्ने नीति अपनाउनु पर्नेमा समेत जोड दिए।

स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यका स्वदेशी समिट २०२३ आयोजना गरिएको परिसंघले जनाएको छ। 

प्रकाशित मिति: १४:४७ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्