Kathmandu Press

कानुन निर्माण प्रक्रियालाई तीव्रता दिइने

सिंहदरबारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा आज बसेको पहिलो बैठकमा उक्त दुई विधेयकलाई जतिसक्दो छिटो अघि बढाउनुपर्ने विषयमा समितिका सदस्यहरुले सुझाव दिएका थिए।
कानुन निर्माण प्रक्रियालाई तीव्रता दिइने

काठमाडौं, जेठ २ : संघीय संसद्अन्तर्गत कानुन तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरणसम्बन्धी र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई जतिसक्दो छिटो दफावार छलफलका लागि अघि बढाउने भएको छ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा आज बसेको पहिलो बैठकमा उक्त दुई विधेयकलाई जतिसक्दो छिटो अघि बढाउनुपर्ने विषयमा समितिका सदस्यहरुले सुझाव दिएका थिए।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ र सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐन संशोधन विधेयक समितिमा आएको र दफाबार छलफल गरी निष्कर्षमा पुर्‍याउनुपर्ने समितिका सभापति देउवाले जानकारी गराए। 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समितिमा आएका दुई विधेयकलाई जतिसक्दो छिटो समितिबाट पास गरेर पठाउनुपर्ने र सङ्क्रमणकालीन न्याय मुलुकको इज्जतको विषय भएकाले महत्वका साथ अघि बढाइदिन आग्रह गरे। उक्त विधेयकमा सम्पत्ति शुद्धिकरणसम्बन्धी एक सय पाँच र सङ्क्रमणकालीन न्यायसम्बन्धी एक सय ८६ वटा संशोधन परेको छ। अब समितिमा दफावार छलफल हुनेछ।

एमाले उपाध्यक्ष एवं समितिका सदस्य सुवासचन्द्र नेम्वाङले समितिमा भएका दुई विधेयकलाई तत्काल अघि बढाउन  सबै एकताबद्ध भएको र सङ्क्रमणकालीन न्यायको विषयमा एकमतका साथ अन्तर्राष्ट्रिय मान्यता, सर्वोच्च अदालतको फैसला र पीडितको भावनाअनुरुप ऐन संशोधन गर्नुपर्ने सुझाव दिए।

सांसदहरु रञ्जु ठाकुर, सोविता गौतमलगायतले समितिको बैठकको कार्यविधि बनाएर उक्त विधेयकलाई अघि बढाउन सुझाव दिएका थिए। समितिका सभापति देउवाले अर्को बैठकमा समितिको बैठकको कार्यविधि तय गरिने र समितिका विधेयकलाई अघि बढाउने जानकारी दिए।

प्रकाशित मिति: १२:४४ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्