दशगजा खाली गराउन नेपाल–भारतका सीमावर्ती प्रशासकहरू सहमत
नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (बिडिसिसी)को सोमबार भारतको किसनगञ्जमा बसेको बैठकमा दशगजा क्षेत्रमा रहेका खेतीपाती र घरटहरा हटाउने सहमति भएको हो।
मोरङ, जेठ १ : भारतसँग सीमा जोडिएको झापा र मोरङ जिल्लाको दशगजा क्षेत्रलाई खाली गराउन र ढलेका सीमास्तम्भहरू मर्मतसम्भार गर्न दुवै देशका सीमावर्ती जिल्लाका प्रशासकहरू सहमत भएका छन्।
नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (बिडिसिसी)को सोमबार भारतको किसनगञ्जमा बसेको बैठकमा दशगजा क्षेत्रमा रहेका खेतीपाती र घरटहरा हटाउने सहमति भएको हो।
बैठकमा नेपाली टोलीको नेतृत्व मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव र भारतीय टोलीको नेतृत्व विहार प्रान्तको किसनगञ्ज जिल्लाका मजिस्ट्रेट श्रीकान्त शास्त्रीले गरेका थिए।
किसनगञ्जका जिल्ला मजिस्ट्रेट शास्त्रीले दुवै देशको सीमाको दशगजा क्षेत्र अतिक्रमणमुक्त गराउने विषयमा सहमति भएको बताए। उनले नदीले बगाएका, पुरेका र हराएका सीमास्तम्भहरूको खोजी गरी यथास्थानमा पुनःस्थापना गर्नेसमेत सहमति भएको बताए।
‘दशगजा क्षेत्र खाली गराउने र क्षतिग्रस्त सीमा स्तम्भहरूको मर्मत गर्न हामी दुवै देशका जिल्ला प्रशासकहरु सहमत भयौ,’ मजिस्ट्रेट शास्त्रीले भने।
यस्तै मोरङका प्रमुख जिल्ला अधिकारी यादवले दुवै देशका सीमा क्षेत्रका अधिकारीबीच १४ वटा विषयमा सौहार्दरूपमा छलफल भएको बताए। उनले हात्ती आतंक, लागूऔषधको कारोबार, मानव तस्करी, चोरी निकासीलगायतका महत्त्वपूर्ण विषयमा नियन्त्रणका लागि भारतीय पक्षलाई नेपालका तर्फबाट आग्रह गरिएको बताए।
‘सीमा क्षेत्रमा भइरहेका समस्याका बारेमा हामीले भारतीय पक्षको ध्यानाकर्षण गरायौं,’ प्रजिअ यादवले भने, ‘हात्ती आतङ्क, लागूऔषधको कारोबार, मानव बेचबिखन, चोरी निकासी जस्ता आपराधिक घटना नियन्त्रणमा सहकार्य गर्न उहाँहरू सहमत हुनुभयो।’
बैठकमा भारतीय पक्षबाट सीमा क्षेत्रमा हुनसक्ने आतंककारी गतिविधि, हतियार तस्करी, नक्कली नोट, मदिरा र गाईवस्तु तस्करीलगायतका समस्याको समाधानका लागि नेपाली पक्षको ध्यानाकर्षण गराइएको थियो।
बैठकमा नेपाली पक्षबाट झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, मोरङका सहायक प्रजिअ शरदकुमार पोखरेल, सशस्त्र प्रहरी बलको २ नं गणका गणपति देवराज अर्याल, झापाका प्रहरी उपरीक्षक रेग्मी, मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेललगायतको सहभागिता रहेको थियो।
भारतीय पक्षबाट बैठकमा किसनगञ्जका सहायक डिस्ट्रिक्ट मेजिस्ट्रेट एके गुप्ता, एसएसबीको ४१औं बटालियन कमान्डर एससी नागी, १९औं बटालियन कमान्डर मधुकर अमिताभ, अररियाका वन विभागका अधिकारी नरेश प्रसादलगायतको सहभागिता थियो।











