नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रमाथिको घात र अपमान : शंकर पाेखरेल
राष्ट्रिय युवा संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले मानवबेचबिखनमा मुलुकको नाम जोडिनु अन्तराष्ट्रिय जगतमा नै लज्जास्पद भएको र यस प्रकरणमा राष्ट्रमाथिको घात र अपमान भएको बताएका हुन्।
काठमाडाैं, जेठ १ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रमाथिको घात र अपमान भएको बताएका छन्।
राष्ट्रिय युवा संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले मानवबेचबिखनमा मुलुकको नाम जोडिनु अन्तराष्ट्रिय जगतमा नै लज्जास्पद भएको र यस प्रकरणमा राष्ट्रमाथिको घात र अपमान भएको बताएका हुन्।
उनले उक्त प्रकरणमा बदमासी एउटाले गर्ने र संकेत अर्कोतर्फ गर्ने काम भएकाले त्यसप्रति सचेत हुन जरुरी रहेको बताए। एमाले नेतृत्वको सरकार भएका बेलमा बाँकी रहेका भुटानी शरणार्थीका विषयमा कार्यदल बनाइएको र कार्यदलले बनाएको प्रतिवेदनमाथि जालसाझी गरिएको पोखरेलले जिकिर गरे।
पोखरेलले शरणार्थी प्रकरणमा संलग्न जोकोहिलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। उनले भ्रष्टाचारका सबै काण्डहरुको छानबिन गर्न एमाले तयार रहेको भन्दै अहिलेको सत्ता पक्षपनि तयार हुनुपर्ने धारणा राखे। समाजमा रहेका सबै प्रकारका भेदहरुलाई अन्त्य गर्न युवाहरुले अगुवाइ गर्नुपर्ने उनको भनाइ छ।
कार्यक्रममा युवा संघका अध्यक्ष क्षितिज थेवेले मुलुकलाई सुशासनतर्फ अघि बढाउन युवा संघले निरन्तर सचेत गराएको बताए। उनले युवाहरुलाई मुलुकमा स्वरोजगार बनाउनेगरि अभियान चलाउने काम युवा संघले गर्ने बताए।