Kathmandu Press

नक्कली शरणार्थी प्रकरणलाई शीघ्र निष्कर्षमा पुर्‍याउन माग

सांसद देवेन्द्र पौडेलले अर्थतन्त्रको वर्तमान अवस्थाबारे यथार्थ विवरण पेस गर्दै सरकारले अगाडि बढाएको आर्थिक सुधारको कामलाई साथ र सहयोग दिन सबै राजनीतिक दल तथा सरोकारवालालाई ध्यानाकर्षण गराए।
नक्कली शरणार्थी प्रकरणलाई शीघ्र निष्कर्षमा पुर्‍याउन माग

काठमाडाैं, जेठ १ : नेपाली कांग्रेसका सांसद डा आरजु राणाले नक्कली शरणार्थी प्रकरणमा आफूलाई जोडेर गलत प्रचार गरिएकामा आपत्ति जनाएकी छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उनले आफ्नो चरित्रमाथि औँला ठड्याउने काम भएको र त्यसबारे आफूले उजुरी दिन पनि कञ्जुस्याइँ गरेको बताइन्। 

उनले मानव तस्करीको जालो रोक्न सरकारले कडा प्रयास गरोस् भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणलाई शीघ्र निष्कर्षमा पुर्‍याउन आग्रह गरिन्। सांसद देउवाले आफ्नो नाममा गलत टेप बनाएर अनधिकृत प्रचार गरिएकाले आपत्ति प्रकट गर्नुभयो। उनले यो प्रकरणलाई शीघ्र निष्कर्षमा पुगोस् भन्नेमा आफू आतुर रहेको बताइन्।

सांसद रघुजी पन्तले नेपालको भुक्तानी प्रणालीको सूचना कुनै पनि विदेशी कम्पनीलाई दिन नहुने बताए। उनले सरकारले देशहितको रक्षा गर्नुपर्नेमा जोड दिँदै राष्ट्रहितविपरीतका कुनै पनि गतिविधि नगर्न आग्रह गरे। सांसद पन्तले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा मुलुकलाई अप्ठ्यारो पार्ने कुनै पनि गतिविधि नगर्न ध्यानाकर्षण गराए।

‘नक्कली शरणार्थी प्रकरण देशद्रोह हो’ 

सांसद देवेन्द्र पौडेलले अर्थतन्त्रको वर्तमान अवस्थाबारे यथार्थ विवरण पेस गर्दै सरकारले अगाडि बढाएको आर्थिक सुधारको कामलाई साथ र सहयोग दिन सबै राजनीतिक दल तथा सरोकारवालालाई ध्यानाकर्षण गराए।

उनले भ्रष्टाचारको विषय पक्ष र प्रतिपक्षको विषय नभएको उल्लेख गर्दै सरकारले पछिल्ला दिनमा सुरु गरेको नक्कली शरणार्थी प्रकरणलाई तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने बताए।

नक्कली शरणार्थी प्रकरणका विषयलाई निष्कर्षमा पुर्‍याउन छाडेर अरु विषय उठाएर  यो प्रकरणलाई ओझेलमा पार्न खोजिएको उनको टिप्पणी थियो। 

भ्रष्टाचार सूचकाङ्कमा नेपालको अवस्था असाध्यै कमजोर रहेको तथ्य पेस गर्दै सांसद पौडेलले छानबिनको प्रक्रियामा रहेको विषयलाई निष्कर्षमा पुर्‍याउनैपर्ने उल्लेख गरे। विगतका ठूला भ्रष्टाचार काण्डका रुपमा परिचित ओम्नी, बालुवाटार, सुरक्षण मुद्रण प्रकरणको पनि छानविन हुने सांसद पौडेलको भनाइ छ।

सांसद पौडेलले नक्कली शरणार्थी प्रकरण सङ्गठित अपराध, कीर्ते ठगी, मानव बेचविखन र देशद्रोहसमेत भएकाले दोषीलाई कडा कारबाहीको दायरामा ल्याउनैपर्ने बताए।

सांसद गणेश पराजुलीले नेतृत्वमा रहेकाले नै राज्यशक्तिको दुरुपयोग गरेर भ्रष्टाचार र अनियमितता गरेको पाइएको तथ्य पेस गर्दै आफ्नो पार्टीका नेता दोषी ठहरिँदा जोगाउन लागिपरेको आरोप लगाए। नक्कली शरणार्थी प्रकरणमा वर्तमान सरकार र गृह मन्त्रालयले देखाएको तदारुकतालाई धन्यवाद दिँदै उनले यसमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउन कुनै कमजोरी नगर्न आग्रह गरे।

सांसद ज्ञानबहादुर शाहीले भ्रष्टाचारको आरोप लागेका नै भ्रष्टाचार विरोधी आन्दोलनमा लागेको देख्दा आफूलाई दिक्क लागेको बताए। उनले भ्रष्टाचार नियन्त्रणका लागि सदनले नै कडा कानुन बनाउनुपर्ने बताए।

सांसद नवलकिशोर साहले भ्रष्टाचार प्रकरणले मुलुकको प्रतिष्ठा गिराएकाले सरकारले नक्कली शरणार्थी प्रकरणका बारेमा सत्य तथ्य सदनलाई जानकारी गराउन माग गरे। सांसद शेरबहादुर कुँवरले पनि नक्कली शरणार्थी प्रकरणमा सरकारले अगाडि बढाएको कारबाही प्रक्रियाले दण्डहिनताको अन्त्य हुने विश्वास व्यक्त गरे।

उनले अनेकन काण्डैकाण्डका कारण पञ्चायती व्यवस्था ढलेको तथ्य पेस गर्दै जनताको बलिदानबाट स्थापित वर्तमान राजनीतिक प्रणालीलाई कमजोर बनाउने काम नगर्न आग्रह गरे।

सांसद अब्दुल खानले नेपाली नागरिकका सन्तानलाई सरकारले कहिले नागरिकता प्रदान गर्ने हो रु भन्ने प्रश्न गर्नुभयो। उनले नागरिकताविहीन नागरिकलाई तत्काल नागरिकता दिने प्रबन्ध गर्न माग गर्नुभयो।

‘विद्युतीय सवारीसाधनको बढावा गरौँ’

सांसद अरुणकुमार चौधरीले बढ्दो इन्धन मूल्य र वातावरण प्रदूषणका कारण विश्वसमुदायको ध्यान विद्युतीय सवारीतर्फ आकर्षित भइरहेको उल्लेख गर्दै नेपाल आयल निगमले आयात गरेको इन्धनको मूल्य मात्रै मुलुकको अर्थतन्त्रको ठूलो आकार रहेकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए। 

उनले इन्धन आयातलाई थोरै मात्रामा घटाउन सकियो भने मात्रै पनि मुलुकको अर्थतन्त्रमा सुधार हुन सक्ने बताए। आगामी आर्थिक वर्षको बजेटमा इन्धन आयात कम गर्ने विषयलाई प्राथमिकतामा राख्न उनले सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद चौधरीले राजमार्ग तथा पर्यटकीयस्थलमा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेशन निर्माण गर्न आग्रह गरे।

सांसद रामप्रकाश चौधरीले देश नै लज्जित हुने गरी नक्कली शरणार्थी प्रकरण सार्वजनिक भएकाले दोषीलाई कडा कारबाही गर्न र कोही कसैलाई पनि छुट नदिन आग्रह गर्नुभयो। उनले अनुसन्धान अधिकारीलाई कुनै पनि प्रभाव र दबाबमा नपर्न अनुरोध गरे।

सांसद प्रेम सुवालले भक्तपुरमा आइतबार काठ कारखानामा भएको आगलागीको घटनाको सत्यतथ्य छानविन गरी पीडितलाई क्षतिपूर्ति दिन आग्रह गरे। सांसद अमरेशकुमार सिंहले भ्रष्टाचारीको कुनै जात, धर्म, लिङ्ग नहुने भन्दै नक्कली शरणार्थी प्रकरण देशद्रोह, सङ्गठित अपराध, सम्पत्ति शुद्धिकरणलगायतको विषय आकर्षित हुने भएकाले सरकारले आफ्ना निकायलाई एकीकृतरुपमा परिचालन गर्नुपर्ने बताए।

सांसद योगेन्द्र मण्डलले बेरोजगारी, किसानका बारेमा सदनमा छलफल नभएकामा गुनासो गर्नुभयो। सांसद श्यामकुमार घिमिरेले सांसद सञ्जयकुमार गौतम विभिन्न १५ बुँदे माग राखेर विगत तीन दिनदेखि बर्दियामा आमरण अनशन बसेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले सांसद गौतमले उठाएको माग तत्काल सम्बोधन गर्न आग्रह गर्दै विकास निर्माणको काममा भएको बेथितीको अन्त्य हुनुपर्ने बताए।

सांसद लीलानाथ श्रेष्ठले मानव सूचकाङ्का आधारमा आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्नुपर्ने माग गरे। सांसद ज्वालाकुमारी साहले राजनीतिक पूर्वाग्रह र दबाबविना नै भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने बताए। सांसद प्रतिमा गौतमले पनि सांसद नै पुलमुनि आमरण अनशनमा बस्नुपर्ने बाध्यता किन आइपरेको भन्दै उनको माग सम्बोधन गर्न आग्रह गरिन्। 

प्रकाशित मिति: १६:५२ बजे, सोमबार, जेठ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्