टोपबहादुरलाई अदालतबाट ३ दिन थुना म्याद
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई तीन दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
काठमाडौं, जेठ १ : काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
रायमाझीलाई सोमबार अदालतमा उपस्थित गराइएको थियो। जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई तीन दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
एमाले नेता रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरेको थियो । उनलाई पहिले सरकारी वकील कार्यालयमा हाजिर गराएर अदालतमा उपस्थित गराइएको हो ।
यसैबीच टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा पक्राउ परेकाे सूचना सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले जानकारी गराएका छन्।
जिल्ला प्रहरी परिसरले सोमबारै रायमाझी पक्राउको जानकारी संसद् सचिवालयमा गराएको थियो। संसद् सचिवालयले उनको पक्राउबारेको जानकारी सभामुखलाई उपलब्ध गराए लगत्तै सभामुख देवराज घिमिरेले उक्त पत्र संसद्मा पढेर सुनाएका थिए।
रायमाझीलाई एमालेले सचिवबाट पनि निलम्बन गरिसकेको छ।











