विकास निर्माणको काम प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण
सांसद चन्द्रबहादुर विश्वकर्माले पनि दैलेखमा भएको आगलागीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त विपदमा परेका नागरिकले उपचार गर्न नसक्ने अवस्था सिर्जना भएकाले निःशुल्क उपचारको व्यवस्था गर्न माग गरे।
काठमाडाैं, जेठ १ : प्रतिनिधिसभाको आजको बैठकमा सांसद दिपक गिरीले प्रतिनिधिसभा सदस्य सञ्जय गौतम आमरण अनशनमा बसेकाे विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद गौतम १५ सूत्रीय माग राखेर बर्दियाको जब्दी पुलमुनि आमरण अनसन बसेको भन्दै सांसद गिरीले विकास निर्माणको काममा देखिएको बेथिती अन्त्यका लागि माग गरे। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले दशेव्यापी रुपमा विकास निर्माणको काम प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
सांसद दिक्पाल शाहीले गत वेशाख २७ गते दैलेखको एक सामुदायिक वनमा भएको आगलागीमा परी भएको जनधनको क्षतिप्रति सदन र सरकारको ध्यानाकर्षण गराए। सो घटनामा परी घाइते भएकाको निःशुल्क उपचारको प्रबन्ध गर्न उनले माग गरे।
सांसद राजकिशोर यादवले सिराहाको सुखीपुरमा भएको आगलागीको घटनामा परी जनधनको क्षति भएको भन्दै उचित क्षतिपूर्तिको माग गरे।सुक्खा मौसमका समयमा तराई मधेसका जिल्लामा आगलागीको घटनामा वृद्धि हुन थालेको उल्लेख गर्दै उनले त्यस्तो घटना न्यून गर्न सरकारले पहल गर्नुपर्ने बताए। नक्कली शरणार्थी प्रकरणलाई उहाँले देशद्रोहको सङ्ज्ञा दिँदै दोषीलाई कडा कारबाहीको माग गरे।
सांसद चन्द्रबहादुर विश्वकर्माले पनि दैलेखमा भएको आगलागीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त विपदमा परेका नागरिकले उपचार गर्न नसक्ने अवस्था सिर्जना भएकाले निःशुल्क उपचारको व्यवस्था गर्न माग गरे।
सांसद अम्मरबहादुर थापाले नक्कली शरणार्थी प्रकरण मानव तस्करी भएकाले दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे। उनले विद्युतीय सवारीसाधनको प्रयोगमा बढोत्तरी भए पनि नीतिनियम र कानुनको प्रबन्ध नहुँदा नागरिकले सुविधा नपाएको बताए।
सांसद दिपकबहादुर सिंहले मुलुकको दक्ष जनशक्ति विदेशिएकाले उनीहरुलाई देशभित्रै राख्न आगामी बजेटमा शिक्षा क्षेत्रमा उल्लेख्य बजेटको प्रबन्ध गर्नुपर्ने बताए। बजेटमा दक्ष जनशक्तिका लागि देशभित्रै रोजगारीको प्रबन्ध गर्न उनले माग गरे।











