५०० विद्यार्थीको नतिजामा त्रुटि गर्नेलाई कारबाही गर्न सांसद सापकोटाकाे माग
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले त्रिवि र आरआर क्याम्पसको लापरबाहीका कारण झन्डै ५०० विद्यार्थीको नतिजामा अनुपस्थित देखिएको बताए।
काठमाडौं, जेठ १ : माओवादी केन्द्रका सांसद माधव सापकोटाले रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसको नतिजामा त्रुटि गर्नेलाई कारबाहीको माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले त्रिवि र आरआर क्याम्पसको लापरबाहीका कारण झन्डै ५०० विद्यार्थीको नतिजामा अनुपस्थित देखिएको बताए।
‘आरआर भन्छ, त्रिविको गल्ती भयो। त्रिविको परीक्षा नियन्त्रण कार्यालय भन्छ, आरआर क्याम्पसको कमजोरी छ। एकले अर्कोलाई दोषारोपण गरेर ५ सय बढी विद्यार्थीको जीवनमाथि खेलबाड गर्ने कार्य भइराखेको छ,’ उनले भने, ‘दुई वर्ष पहिलो हुनुपर्ने परीक्षा दुई वर्ष पछाडि भयो। एक वर्ष लगाएर बल्लबल्ल परीक्षाको नतिजा भयो। त्यो पनि ५ सय बढी विद्यार्थीको नतिजामा अनुपस्थित देखियो।’
आरआरको क्याम्पस स्नातक तह पहिलो वर्षको परीक्षाको नतिजा १४ महिना लगाएर सार्वजनिक भएको थियो। त्यसमा ५ सय बढी मार्कसिटमा त्रुटि देखिएको छ।
जसले गर्दा आफ्नो भविष्यलाई लिएर विद्यार्थीहरु चिन्तत बनेका छन्।











