शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान वेदकुमारी न्यौपानेलाई
लामो समयदेखि प्रशासनिक सेवामा विभिन्न जिल्लामा कार्यरत रहेर पनि साहित्य सेवामा लागेकी न्यौपानेलाई सम्मान गर्ने निर्णय प्रकाशनले गरेको अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिए।
काठमाडाैं, जेठ १ : साहित्य सृजनामा जुटेकी वेदकुमारी न्यौपाने (गोरखा) लाई शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान समर्पण गर्ने भएको छ।
लामो समयदेखि प्रशासनिक सेवामा विभिन्न जिल्लामा कार्यरत रहेर पनि साहित्य सेवामा लागेकी न्यौपानेलाई सम्मान गर्ने निर्णय प्रकाशनले गरेको अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिए। नेपाली वाङ्मयलाई विविध विधामा सिर्जित डेढ दर्जन साहित्यिक कृति न्यौपानेले उपहारस्वरुप दिएका छन्।
यो सम्मान शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष समर्पण गरिन्छ। शारदा घिमिरे भैल संयोजक तथा गीता अधिकारी र कालिका त्रिपाठी पन्त सदस्य रहने गरी शब्दयात्रा प्रकाशनले गठन गरेको सम्मानित व्यक्तित्व चयन समितिले यो निर्णय गरेको हो।
यस सम्मानको आर्थिक व्यवस्थापन गायिका तथा पूर्वसचिव उर्मिला श्रेष्ठ भोजपुरेले गरेको प्रकाशनले जनाएको छ।












