भ्रष्टाचारविरुद्ध राप्रपाले आमसभा गर्ने
नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनलाई शसक्त बनाउनुपर्ने र छानविनको कामलाई कमजोर बनाउन नहुने उनले बताए।
काठमाडौं, वैशाख ३१ : राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारविरुद्ध आमसभा गर्ने भएको छ । राप्रपाले जेठ ४ गते काठमाडौंमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने भएको हो।
आइतबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणलगाउत सबै भ्रष्टाचारका काण्डलाई छानविन गर्न दबाब दिने उदेश्यका साथ काठमाडौंमा आमसभा गर्न लागेको बताए।
नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनलाई शसक्त बनाउनुपर्ने र छानविनको कामलाई कमजोर बनाउन नहुने उनले बताए। अध्यक्ष लिङ्देनले राप्रपा शसक्त प्रतिपक्षमा बसेर भ्रष्टाचार, सुशासन र राष्ट्रियताको पक्षमा आवाज उठाउने पनि बताए।
‘भ्रष्टाचारका विषयमा आवाज उठाउने नैतिक क्षमता भएको एकमात्रै पार्टी राप्रपा हो,’ उनले भने, ‘प्रहरीले राम्रो काम गरिरहेको भन्दै स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाउनुपर्छ।’
अध्यक्ष लिङ्देनले सोमबारबाट सुरु हुने पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका सांठनिक गतिविधिको समीक्षा लगाएतका बिषयमा छलफल हुने बताए।











