लुम्बिनी प्रदेश सरकार विस्तार हुँदै
मुख्यमन्त्री चौधरीले आइतबार साँझसम्म बिनाविभागीय मन्त्रीले जिम्मेवारी पाउने र ढिलोमा बुधबारसम्ममा सरकार पूर्ण हुने बताए।
दाङ, वैशाख ३१ : लुम्बिनी प्रदेश सरकार विस्तार हुने भएको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आजै सरकार विस्तारको तयारी गरे हुन्।
मुख्यमन्त्री चौधरीले तीन बिनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिँदै छन्। अहिले माओवादीका १, लोसपाका १ र नागरिक उन्मुक्तिका एक जना विनाविगीय मन्त्री छन्।
माओवादीका धनबहादुर मास्की आर्थिक मामिलामन्त्री र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधारमन्त्री बन्दै छन् । मास्कीको आर्थिक मामिला मन्त्रालय टुंगो लागे पनि नागरिक उन्मुक्तिलाई अर्को मन्त्रालयमा मनाउने प्रयास पनि जारी छ। तनागरिक उन्मुक्तिले अडान राखेको छ।
त्यस्तै लोसपाबाट बिनाविभागीय मन्त्री बनेका सन्तोषकुमार पाण्डेले पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयमा दाबी गरिरहेका छन्। उनलाई त्यो मन्त्रालय फुटाएर पर्यटनसहित अन्य जिम्मेवारी थपेर नयाँ मन्त्रालय दिने तयारी छ।
मुख्यमन्त्री चौधरीले आइतबार साँझसम्म बिनाविभागीय मन्त्रीले जिम्मेवारी पाउने र ढिलोमा बुधबारसम्ममा सरकार पूर्ण हुने बताए। उनले कांग्रेसबाट मन्त्रीका लागि धेरै आकांक्षी भए पनि मन्त्रीको विषयमा लगभग सहमति भएको बताए।
मुख्यमन्त्री चौधरीले कांग्रेसबाट मन्त्री बन्नेको नाम टुंगो लगाउन मंगलबारका लागि संसदीय दलको बैठक बोलाएका छन्। त्यही बैठकबाटै मन्त्री बन्नेको नाम टुंगो लाग्ने उनले बताए।
मुख्यमन्त्री चौधरीले मन्त्रालयको संख्या र साना दलसहित कांग्रेसका भागमा पर्ने मन्त्रालय टुंगो लगाउन आइतबार ९ बेलुका ४ बजेका लागि सर्वदलीय बैठक आहृवान गरेका छन् । बैठक दाङको देउखुरीमै बस्दैछ।











